
झ्याप्ले खोला पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम वितरण
झ्याप्ले खोला पहिरोमा परेर ज्यान गुमाउनेहरुको परिवारलाई राहत रकम वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालसहितको टोलीले जिल्ला विपद् व्यवस्थापन कोषबाट पिडितका परिवारलाई घरैमा पुगेर राहत रकम उपलब्ध गराएका हुन् ।
आइतबार प्रमुख जिल्ला अधिकारी दाहालले पिडितका परिवारलाई उक्त राहत रकम हस्तान्तरण गरेका हुन् । ज्यान गुमाएका मध्य बसका धनी तथा चालक भिमसेन थापा गाउँपालिका–४ धावाका मदन परियार र सोही बसका सहचालक गण्डकी गाउँपालिका–४ फुजेलका नवराज अधिकारीको परिवारलाई जनही २ लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराइएको हो ।
प्राप्त राहत रकम संघीय सरकारमार्फत २ लाख र प्रदेश सरकार मार्फत ५० हजार गरी २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको हो । सोही घटनामा ज्यान गुमाएका धार्चे गाउँपालिका–७ खानिगाउँका सुकबहादुर गुरुङको भने डकुमेन्ट आई नपुगेको प्रजिअ दाहालले बताए ।
डकुमेन्ट आएपछि उनको परिवारलाई पनि राहात रकम उपलब्ध गराइने उनले जानकारी दिए । अर्का नवराज पन्त र विनय भट्टराई बसाइँ सराइ गरी चितवन र काठमाडौं गएकोले पालिकामा बोलाएर रकम उपलब्ध गराइने बताएको छ ।
धार्चे गाउँपालिका–७ लापुबेशीबाट काठमाडौंका लागि छुटेकोे गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिको ना.४ ख २२७० नम्बरको बस झ्याप्ले खोला पहिरोमा परी गोरखाका पाँच जनाले ज्यान गुमाएका थिए ।




