
दसैँमा घर फर्कनेहरुलाई आँबुखैरेनी गाउँपालिकाले निशुल्क बस सेवा दिने
दशैँका बेला काठमाडौँबाट घर फर्कन चाहने पालिकाबसीहरुका लागी आँबुखैरेनी गाउँपालिकाले निशुल्क बस सेवा संचालन गरेको छ । शनिबारदेखि काठमाडौँबाट निशुल्क बस सेवा संचालन गरेको पालिकाले जनाएको छ । पालिका स्थाई घरभई रोजगारी एवं पढाईको शिलशिलामा काठमाडौँ पसेकाहरुलाई मध्यनजर गर्दै निशुल्क बस सेवा संचालन गरिएको आँबुखैरेनी गाउँपालिका वडा नं–३ का अध्यक्ष दिनेश केसीले बताए ।
पालिकाको आर्थिक सहयोग तथा आँबुखैरेनी समाज काठमाडौँको समन्वयमा बस सेवा संचालन गरिएको उनले जानकारी दिए । ‘पालिकाले आँबुखैरेनी समाजका अध्यक्ष, सचिव र कोषाध्यक्षको नंम्बर आफ्नो वेबसाइटमा राखिदिएको छ, काठमाडौँ बसोबास गर्दै आएका पालिकाबासीहरुले वेबसाइट मार्फत उहाँहरुलाई सम्पर्क गरेर वा पािलकामा सम्पर्क गरेर निशुल्क बस सेवा प्राप्त गर्न सक्नु हुन्छ’, उनले भने, ‘निशुल्क बस सेवा अब दुई दिन (असोज २२ र २३) गतेसम्म मात्र संचालन हुनेछ, बसले काठमाडौँको सामाखुसीदेखि पालिका भवनसम्म निशुल्क सेवा दिन्छ ।’
निशुल्क बस सेवाको पहिलो दिन शनिबार ४३ जना पालिकाबासीहरुले सेवा लिएको उनले बताएका छन् । ‘पहिलो दिन ८० प्रतिशत विद्यार्थीहरु थिए, अन्य रोजगारीका लागी काठमाडौँ बसेकाहरुले पनि सम्पर्क गरिरहेको भन्ने सुनेको छु’, उनले भने । निशुल्क बस सेवा कार्यक्रमका लागी करिब १ लाख खर्च हुने अनुमान पालिकाको छ ।




