
ठूलोआँगनस्थित पृथ्वीनारायण शाहको सालिकमा झण्डोत्तोलन
गोरखाको ठुलोआँगनस्थित पृथ्वीनारायण शाहको सालिकमा झण्डोत्तोलन गरिएको छ । शुक्रबार पूजापाठ र राष्ट्रनिर्माता सलामीसहित विधिवत रुपमा झण्डोत्तोलन गरिएको हो । गोरखा नगरपालिका र रिपुमर्दन गणको संयुक्त सहकार्यका कार्यक्रम सम्पन्न गरिएको रिपुमर्दन गणका सेनानी भुवन बहादुर थापा मगरले बताए ।
‘नयाँ वर्षको दिन र वडादशैँमा गरी हरेक ६–६ महिनामा राष्ट्रिय झण्डा फेर्ने प्रचलन छ । सोही अनुसार ठुलोआँगनमा झण्डोत्तोलन गरिएको हो’, उनले भने, ‘२०७९ पुस २७ देखि राष्ट्रनिर्माता सलामी दिन सुरु भयो । त्यही समयमा रिपुमर्दन गण र नगरपालिका बीच सम्झौँता भएको थियो । सोही अनुसार पूजाआजासहित झण्डोत्तोलन गरिएको हो ।’
मेयर कृष्ण राना मगर, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सेनानी भुवन बहादुर थापा र गोनपा–६ का वडाअध्यक्ष राजेन्द्र जोशी प्रमुख कर्ताका रुपमा रहेर पूजापाठसहित झण्डोत्तोलन गरिएको उनले जानकारी दिए । ‘आगामि दिनहरुमा यसको निरन्तरतासहित उपयुक्त व्यवस्थापन गर्ने लक्ष्य सहित काम भइरहेको छ’, उनले भने ।
जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगर, प्रजिअ भोला दाहाल, मेयर कृष्ण राना, सुरक्षा निकाय प्रमुख एवं प्रतिनिधिहरु र स्थानीयहरुको सहभागितामा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको हो ।




