| मङ्लबार, कार्तिक २४, २०८३

मनकामना क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा बस्न्यात छनोट

गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामनाको चौतर्फी विकास गर्ने उद्देश्यले स्थापित मनकामना क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा अन्जन बस्न्यात छनोट भएका छन् । मन्त्रिपरिषद् बैठकले बस्न्यातलाई कार्यकारी निर्देशकको पदमा छनोट गरेको हो ।

निर्देशक सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय समिति गठन भएको थियो । समितिमा सामाजिक विकास मन्त्रालयका सचिव र मनकामना क्षेत्र विकास समितिका अध्यक्ष सदस्य थिए । उक्त गठन भएको समितिले गठन आदेश र कार्यविधिमा रहेर काम गर्नु पर्ने उनले जानकारी दिए ।

कार्यकारी निर्देशक हुन ४ जनाले आवेदन दिएका थिए । बस्न्यातसहित मनकामनाकै गणेश थापा, मिलन श्रेष्ठ र रोशना घिमिरेको पनि आवेदन परेको हो । मनकामना क्षेत्र विकास समितिको कार्यकारी निर्देशकको कार्यकाल ४ वर्षको हुनेछ । क्षेत्र विकास समितिको सबै प्रशासनिक काम गर्ने जिम्मेवारी कार्यकारी निर्देशकको हुन्छ । यसअघि क्षेत्र विकास समितिको अध्यक्षमा काजीबाबु श्रेष्ठलाई नियुक्त गरिएको छ ।

मनकामना मन्दिरको भेटी व्यवस्थापन निकै चुनौतीपूर्ण छ । अब आउने समितिले मन्दिरको हित र भेटी व्यवस्थापन लगायतलाई प्रथमिकतामा राखेर काम गर्ने बस्न्यातले बताए । संघ सरकार मातहत रहेको मन्दिर अघिल्लो वर्षदेखि प्रदेश सरकारको स्वामित्वमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्