
गोरखाकी किर्तिमानी आरोही फुञ्जो सम्मानित
नेपालको साहसिक पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्न प्रेरणादायी भूमिका निर्वाह गरेबापत सरकारले कीर्तिमानी महिला पर्वतारोही फुञ्जो लामालाई सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने चुमनुब्री ७ छेकम्पार गोरखाकी फुन्जो झाङ्मु लामालाई सम्मान गरेका हुन् ।
उनी आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेकी थिइन् । ट्रेलब्लाइजिङ पर्वतारोही र हिमाली आउटडोर एथलीट फुन्जोले आधार शिविर – सगरमाथा शिखर – आधार शिविर –२४ घण्टा २६ मिनेटमा आरोहण गरी सबैभन्दा छिटोको कीर्तिमान कायम गरेकी छिन् । गत वसन्त सिजनमा ट्याग नेपालको सगरमाथा आरोहण दलमा रहेर फुन्जोले सो उपाधि हाँसिल गरेकी हुन् ।
फुन्जो, जो पहिलो नेपाली महिला हेलिकप्टर लामो लाइन उद्धारकर्ता हुन् । यसअघि पनि सरकारले तेन्जिङ, हिलारी अवार्डबाट उनलाई सम्मानित गरिसकेको थियो । गोरखाको चुम उपत्यकाको छ्योकाङ गाउँमा जन्मेकी फुञ्जोले सगरमाथा, मनास्लु हिमाल, चोओयु र अम्दब्लाम, लोबुचे र देनालीलगायतका चुचुरो आरोहण गरेकी छिन् । उनले ग्रामीण समुदायलाई आफ्नो जीविकोपार्जनका लागि पनि सहयोग गरेकी छिन् ।
विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले फुन्जोलाई सम्मान गरेका हुन् । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, पर्यटन सचिव र सरकारका उच्च तहका साथै उद्योगका प्रतिनिधिको उपस्थिति थियो ।




