| मङ्लबार, कार्तिक २४, २०८३

गोरखकालीमा विधिपूर्वक घटस्थापना, पूर्णिमासम्म गोरखनाथमा रोट नचढ्ने

गोरखकाली मन्दिरमा विधिपूर्वक घटस्थापना गरिएको छ । बिहिबार बिहान ९ः१६ बजे प्राचीन कालदेखि प्रचलित विधि प्रक्रिया अनुसार गोरखकाली मन्दिरमा जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।

‘घटस्थापनाको अघिल्लो दिनमा पण्डितपाटीमा यहाँका मूलपुजारी, अरु पुजारी, पण्डितहरु, भित्रिया सुसारे र अरु सबै कर्मचारीहरुलाई नवरात्रभर गर्ने कामको जिम्मेवारी दिई सुपारी दिने काम भयो’, अड्डाका प्रमुख पाठकले भने, ‘घटस्थापनाका दिन व्रह्ममुहुर्तमा गोरखा जिल्लाका समन्वय समिति प्रमुख, नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका गणपति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख, स्थानीय समाजसेवी, मान्यगणहरुको उपस्थितिमा बाजागाजासहित शोभायात्रा गर्दै यहाँका मूल पुजारी, भित्रिया सुसारेहरुबाट गोरखकाली भगवतीको मूर्ति कैलाशकोठाबाट गर्भगृहमा सार्ने काम भयो ।

त्यसपछि विधिपूर्वक व्राह्मण वरण गरी पूजापाठ गरी बिहान ठिक ९ः१६ बजे जमरा राख्ने काम सम्पन्न भयो ।’ गोरखकाली मन्दिरमा दुईपाथी र गोरखनाथ गुफामा दुईपाथी जौको जमरा राखिएको उनले बताए । गोरखकाली देवीको कोठा, जमरा कोठाका साथै गोरखा दरबारकै समन्वयमा तल्लोकोट, उपल्लोकोट, विरिमकाली, ढुंगागाढे, विन्ध्यावासिनी, पद्माख्यामा पनि जमरा राखिएको गोरखा दरबारले जनाएको छ ।

शोभायात्राको अवसरमा गोरखा दरबारमा नगरा, धिमेबाजा, पञ्चैबाजा बजाइएको थियो भने परम्पराअनुसार मालश्री पनि गाइएको थियो । कैलाशकोठामा रहेको कालिकाको मूर्ति नवरात्रभर गर्भगृहमै राखिन्छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म सो मूर्ति कन्याकोठामा राख्ने प्रचलन छ । ‘चैत्राष्टमीका दिनमा पनि कालीलाई कैलाशकोठाबाट गर्भगृहमा राखिन्छ’, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख पाठकले भने, ‘देवी कैलाशकोठामा नरहेका बेला गोरखनाथ उपवास बस्छन् भन्ने जनविश्वास छ, त्यसैले यो अवधिमा गोरखनाथमा रोट चढ्दैन ।’

गोरखा दरबारमा राखिएको जमरा विजया दशमीका दिनमा नवदुर्गालाई चढाउन प्रयोग गरिन्छ । साथै कार्यालय प्रमुखबाट कर्मचारीहरुलाई तथा त्यहाँ उपस्थिति दर्शनार्थी भक्तजनहरुलाई वितरण गर्ने गरिन्छ । फूलपातीका दिनमा यहाँबाट हनुमानढोकासम्म फूलपाती लैजाने गरिन्छ । पुजारी, पुरोहित तथा गुरुजीको पल्टनले हर्ष बढाइँका साथ यहाँको जमरा हनुमानढोका दरबारमा फूलपाती पु¥याउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्