| मङ्लबार, कार्तिक २४, २०८३

मौलिकता गुमाएको बारपाक

‘खोइ किन हो किन, बारपाक गाउँ मैले भुल्नै सकिन ।
बिश्व जित्ने बिरहरु यही गाउँम जन्मे
संस्कृति र संस्कारमा मिलिजुली रम्ने
खोइ किन हो किन, बारपाक गाउँ मैले भुल्न सकिन ।।’
गितमा भनेजस्तै मौलिक संस्कृति र संस्कार बारपाकको पहिचान नै हो । दोस्रो बिश्वयुद्धमा साहसिक कार्य गरेर भिक्टोरिया क्रस जितेका गजे घलेको इतिहास यही ठाउँले बोकेको छ । घले र गुरुङको बसोवास रहेको बारपाक रोधी घर, मारुनी र घाँटु नाँचले पनि परिचित छ । होम स्टे र पहुनालाइ गरिने संस्कार देशभर बारपाकको पहिचान बनिसक्यो ।

संस्कृतिको मात्र होइन प्राकृतिक रुपले पनि धनि छ, बारपाक । हिमालको काँखमा एकनाशे ढुङ्गाले छाएको गाउँ देख्दा कसको मन लोभिन्थेन होला ! हिमालको फेदमा रहेका भेडिगोठ र चरन क्षेत्रमा चर्दै गरेका भेडावाख्राहरु देख्दा स्वर्गको अनुभूति हुन्थ्यो । कोदोको ढिँडो, सिस्नु, गुन्द्रुकको अचार र साधेँको भटमास त्यसमाथि लोकल कुखुरा र लोकल रक्सीको स्वाद, आहा ! कसको मुख नरसाउला !

तर २०७२ सालको भूकम्प पश्चात वारपाकको संरचना फेरिएको छ । परम्परागत हिल स्टेशनको रुपमा रहेको बारपाक भूकम्प पश्चात आधुनिक हिल स्टेशनमा बद्लिदै छ । ढुङ्गामाटाका घरहरुलाई आरसीसी भवनले बिस्थापित गरिसक्यो । एकनाशे ढुङ्गाले छाएका घरहरु इतिहासमा सिमित बन्दै छन् । पुराना संरचनाहरु दुर्लभ बनेका छन् ।

‘पहिले बारपाक भनेपछि एकनाशे ढुङ्गाले छाएका घरहरु भनेर झल्को आइहाल्थ्यो,’ स्थानीय जीतबहादुर घलेले भने, ‘तर अहिले भूकम्पले सबै घर भत्कायो, धमाधम आरसीसि बिल्डिङ ठडिए ।’ वारपाकको पहिचान नै गुम्ने भन्दै उनले चिन्ता व्यक्त गरे । ‘पहिले ढुङ्गाले छाएको छानो, माटोले लिपेको घर र पिडी हुन्थ्यो, फेरि भान्सा कोठाको अगेना अगाडी कुल पुजा गर्ने ठाउँ हुन्थ्यो तर, अहिले पुराना तरिकाले कसैले घर बनाउदैनन् । धमाधम आरसिसि घर बन्न थालिसके,’ उनले भने ।

बारपाकको संचरना मात्रै फेरिएको छैन होम स्टे मा पाउने गाउँलेपन शहरीयापनमा बदलि सकेको छ । स्थानीय खानाका परिकारलाइ शहरी शैलीका खानपानले विस्थापित गरिसक्यो । लोकल कुखुराको स्वाँद अव बोइलरमा खोज्नुपर्ने बाध्यता छ । मम र चाउमिनहरु हावी हुदैँ छन् । रितिरिवाज र संस्कृति बिस्तारै लोप हुदै छन् । रोधी घर अहिले इतिहास बनिसक्यो ।

मौलिकतालाइ बिर्सदै जादाँ पर्यटकको गन्तव्यको रुपमा परिचित बन्दै गरेको बारपाकमा पर्यटन प्रवद्र्धनमा समस्या हुने होकी भन्ने चिन्ता स्थानीयमा छ । २०७२ सालको भूकम्पका कारण बारपाकका करिव १४ सय घरधुरी क्षतिग्रस्त भएको थियो । ७२ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्