
क्षतिको सही विवरण बाहिर ल्याऔँ
केही दिनअघिको आरीघोप्टे बर्षापछिको बाढी पहिरोले गोरखा जिल्लाका धेरै ठाउँमा क्षति पु¥याएको छ । गोरखाबाट काठमाडौँ जाँदै गरेको बस पहिरोमा पुरिँदा गोरखाका पाँच जनाको मृत्यू भएको छ । चितवनबाट काठमाडौँ जादै गरेको माइक्रोबस पुरिँदा गोरखा धावाकै अर्का एकको पनि मृत्यू भएको अपुष्ट खबर छ ।
चुमनुब्री २ स्योमा दुई घर, वडा नं. ६ चुम्चेत, चुम्लिङ, खार, ताजु लगायतका ठाउँमा धेरै घरहरु पहिरोमा परेर बग्ने, पुरिने, भत्किने भएका छन् । त्यहाँको माइक्रो हाइड्रो प्रोजेक्ट पटक पटक क्षतिग्रस्त भएका छन् । सहिदलखन र गण्डकी गाउँपालिकाका विभिन्न गाउँबस्तीबाट पृथ्वीराजमार्ग जोड्ने पुलहरु त्रिशुलीको बाढीले क्षतिग्रस्त भएका छन् । केही घर र मान्छेको पनि मृत्यू भएको छ ।
जिल्लाका अन्य ठाउँहरुमा पनि धेरै ठाउँमा घर पुरेको छ, बगाएको छ । पशुचौपाया पुरेको, बगाएको छ । धेरै ठाउँमा पहिरोले बाटो बिगारेर हिँडडुल गर्न नमिल्ने भएको छ । खेत बगाएको छ । यी र यस्तै धेरै खालका क्षति भएका छन् । प्राकृतिक प्रकोपमा परी कहाँ कहाँ के के क्षति भए त्यसको दुरुस्त विवरण संकलन गर्नुपर्छ ।
धेरै क्षति भएको देखाइयो भने धेरै क्षतिपूर्ति वा राहत दिनुपर्ला भन्ने ठानेर हो वा आफ्नो ठाउँको इज्जत जोगाउने गलत मनाशयले हो कुन्नि, यथार्थ घटनालाई लुकाएर सामान्य मात्र क्षति भएको देखाउने अभ्यास धेरै पान्छ । दूर दराजका गाउँबस्तीको यथार्थ विवरण संकलन नहुने गरेको पाइन्छ । आफ्नो ठाउँमा धेरै क्षति भएको देखाउन नचाहने प्रचलन पनि देखिन्छ ।
आफ्नो ठाउँमा महामारी फैलिएको, मान्छे नै मरेको खबर सार्वजनिक हुँदा रिसाउने सामाजिक अगुवा पनि देखिन्छ । क्यान्सर जस्ता जघन्य रोग फैलिँदा पनि यसलाई प्रचार प्रसार गर्न नचाहने, प्रचार प्रसार भइहाले झुठ हो भनेर त्यसलाई ढाकछोप गर्ने परम्परा नौलो होइन । त्यसो नगरौँ, आफ्नो ठाउँ, ठाउँमा भएको यथार्थ विवरण बाहिर ल्याउनु पर्दछ ।




