| मङ्लबार, कार्तिक २४, २०८३

जनैको साँचोले धानेको जेष्ठ नागरिकको मान

प्रतिक्षा आले मगर ।
‘ती बृद्ध सँधै जनैमा साँचो झुण्डयाउँथे । कसैलाई छुन नदिने त्यो साँचो उनको सन्दुकको थियो । सन्दुक उचेल्दा निकै वजनदार थियो । उनका दुईभाई छोरा र बुहारीहरुले त्यो ढुकुटीमा पक्कै धेरै नै धन छ भन्ने सोचेर उनलाई यथेष्ट मान सम्मान दिन्थ्ये । दुई भाईबीच बुबालाई खाना खुवाउन तँछाडमछाड् हुन्थ्यो । ती बृद्धको मृत्यु भएको दिन छोराबुहारीहरु बीच साँचो खोसाखोस भयो ।

उनको ‘जनैको साँचो’ निकालेर सन्दुक खोले । सन्दुकभित्र ठुलो ढुङगो शिवाय केही थिएन ……।’ होटल व्यवसायी एवं ज्येष्ठ नागरिक जिल्ला संघका सत्यमान श्रेष्ठलाई ‘हाल समुदायमा जेष्ठ नागरिकहरुको अवस्था कस्तो छ ?’ भनेर गरेको प्रश्नको उत्तर हो यो । कर्तव्य, जिम्मेवारी, धर्म भन्दा पनि अहिले घरघरमा ज्येष्ठ नागरिकहरु जनैको साँचोको भरोसामा अस्तित्वमा रहेको उनी बताउँछन् ।

घरबाहिर त अवहेलितै छन्, प्राय ज्येष्ठ नागरिक घर परिवारभित्रै हेपिन्छन् । ‘राज्यले दिएको बृद्ध भत्ताले भने धेरै नै राहत पु¥याएको अवस्था छ । म सक्षम छु मलाई फरक परेन तर सबैको अवस्था उस्तै छैन । बृद्ध भत्ताका कारण पनि बुढाबुढीले माया पाएको अवस्था छ’, उनले भने, ‘भत्ताले पोसिलो खान र आफ्नो फुर्मास गर्न सजिलो भएको छ ।

तर, अपहेलनाचाँहि कायमै छ जस्तो लाग्छ । हामीसँग अनुभव छ, ज्ञान छ । त्यसलाई राज्यले सम्बोधन गर्नु पर्दछ । अहिलेको युवापुस्ताले आफ्नो आमाबुबालाई माया र सम्मान गर्न जरुरी छ ।’ जेष्ठ नागरिकहरुले केही गर्न नसक्ने भन्दै अपहेलित हुने अवस्था रहेको श्रेष्ठको भनाई छ ।

सरकारले जेष्ठ नागरिकहरुका लागि भनेर स्वास्थ्य तथा यातायात क्षेत्रमा छुटको व्यवस्था गरेको छ । जसका कारण आफुहरुलाई निकै सहज भएको उनी बताउँछन् । जेष्ठ नागरिकहरुलाई समस्या छ । सबै नागरिकहरुले आ–आफ्नो क्षेत्रबाट यसलाई सम्बोधन गर्न जरुरी रहेको ज्येष्ठ होटल व्यवसायी सत्यमान श्रेष्ठ बताउँछन् ।

बा–आमालाई बृद्धाश्रम लगेर छोड्नु बिडम्बना

आज (मंगलबार) ३४ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस, जिल्लामा विविध कार्यक्रमहरु आयोजना गरिएको छ । जेष्ठ नागरिक संघ गोरखाले गोरखा नगरपालिकाका २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरी दिवस मनाउन लागेको छ । २० जना जेष्ठ नागरिकहरुलाई प्रतिव्यक्ति २ हजार नगद सहित सम्मानपत्र र जाडोमा लगाउने टोपीसहित सम्मान गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

‘हामी जेष्ठ नागरिकहरु राज्यको प्रमुख अंग हौँ, तर वर्तमान अवस्थामा हामीहरुलाई समुदायको बोझका रुपमा हेरिएको अवस्था छ । सबैजना एकदिन जेष्ठ नागरिक बन्छन् । जवानै रहने को होला र ? तर, अहिलेको नयाँ पुस्ताहरुले जेष्ठ नागरिकहरुको अपहेलना गरेको देखिन्छ । राज्यले हाम्रा लागि ऐन त बनाएको छ तर, खासै कार्यान्वयन भएको छैन् । अहिलेको युवाहरुले आमाबुबालाई स्याहार गर्नुका सट्टा बृद्धाश्रम लगेर छोड्नु बिडम्बना हो ।

जेष्ठ नागरिकहरु ज्ञानको प्रमुख भण्डार हो । राज्यले दिएका सेवा सुविधालाई जेष्ठ नागरिकहरुले सजिलै उपभोग गर्न पाउने वातावरण सिर्जना गर्नु सबैको दायित्व हो । देश बिकास गर्ने भनिरहेको बेला जेष्ठ नागरिकहरु ओझेलमा परेको अवस्था छ’, यी भनाइहरु जेष्ठ नागरिक जिल्ला संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठको हो । घर परिवार, समाज र सिङ्गो राष्ट्र नै लागि परेर जेष्ठ नागरिकहरुलाई देशको मुख्यधारमा सहभागी गराउनु जरुरी रहेको उनको भनाइ छ ।

वृद्धभत्ताको दुरुपयोग भयो
यस्तै, संघका उपाध्यक्ष दिलबहादुर बस्नेतले जिल्लामा जेष्ठ नागरिकहरुको प्रमुख समस्या भत्ताको सही सदुपयोग नहुनु रहेको बताएका छन् । ‘राज्यले जेष्ठ नागरिकहरुको पोषणका लागि भनेर प्रत्यक महिना भत्ता प्रदान गर्ने गरेको छ तर त्यसको सही सदुपयोग नभएको देखिन्छ’, उनले भने, ‘जेष्ठ नागरिकहरुको भत्ता वृद्धवृद्धाको हात नपरेर दोस्रो व्यक्तिको हातमा पर्ने र उनीहरुले दुरुपयोग गरेर सक्ने गरेको अवस्था छ ।

बाउआमाको भत्ता छोराले रक्सी खाएर सक्ने अनि बाउआमा अपहेलित हुने अबस्था पनि छ ।’ यस्तो अवस्थामा सरकारले भत्ता वितरण प्रणालीको सही व्यवस्थापन गर्न जरुरी रहेको उनले बताएका छन् । ‘जेष्ठ नागरिकहरुले सम्मान पूर्वक बाँच्न पाउनु पर्छ । जुनकुनै क्षेत्रमा सेवा लिन जाँदा प्राथमिकता पाउनु पर्दछ । राज्यले पनि देशका लागि योगदान पु¥याएका जेष्ठ नागरिकहरुको अनुभव र सुझावलाई समेटेर राज्य संचालन गर्नुपर्दछ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्