
माग राख्ने फरक विधिको रहस्य
सफलताको सुत्र सिकाउन शिव खेराले भनेका छन्, ‘सफल हुनेहरु फरक काम गर्दैनन्, उनीहरु त्यही काम फरक तरिकाले गर्छन् ।’ कुनै पनि काम सफल भएन भने प्रयास छाड्ने होइन, तरिका फेर्ने हो । एउटै तरिकाले धेरै पटक त्यही प्रयास दोहो¥याउनु मुर्खता हो ।
उत्तरी गोरखा, विशेषगरी मनास्लु क्षेत्रको केही दिनदेखिको आन्दोलनको प्रसंग यहाँ सान्दर्भिक छ । उनीहरुले निषेधित क्षेत्र खुल्ला गराउने एवं हेलिकोप्टर उँडानलाई सहज बनाउने माग धेरै पटक राखे, धेरै जनासंग राखे । स्थानीय नेता, स्थानीय सरकार, प्रदेश सरकार, प्रतिनिधिसभा सांसद, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पनि उही माग राखे । जोजससंग राखे पनि त्यही माग, त्यही एउटै तरिकाले राखिरहे । तर जति पटक राखे पनि माग पूरा भएन ।
शिव खेराकै सिद्धान्तअनुसार उनीहरुको प्रयास सफल नहुनुको कारण भनेको माग राख्ने तरिका नफेरिएर हो । उही काम तर फरक तरिकाले गर्दा सफल हुन्छ भन्ने उनको सिद्धान्त छ । सामागाउँका बासिन्दाले केही दिनअघि आम भेला आयोजना गरे र निषेधित क्षेत्र घोषणा भएका कारण जनजीवन कष्टकर भएको निष्कर्ष निकाले । हेलिकोप्टर उँडानलाई कडाइ गर्दा धेरै समस्या झेल्नु परेको उनीहरुको निचोड थियो ।
यो कुनै नयाँ निचोड होइन, पुरानै हो, तर यसपटक सो माग राख्ने तरिकामा अलिकति अदलबदल गरे । उनीहले यसपटक अलिकति विधि परिवर्तन गरी माग राखेका थिए, त्यसकै प्रभावस्वरुप झण्डै–झण्डै माग पूरा हुन्छ कि जस्तो संकेत देखियो ।
सरकारले उनीहरुको माग सम्बोधन गर्न सात सदस्यीय कार्यदल गठन ग¥यो र १५ दिनभित्र उचित प्रतिवेदन तयार गर्न निर्देशन दियो ।
त्यसकै सिलसिलामा आइतबार सांसद, गाउँपालिका अध्यक्ष, सिडियो लगायतका टिम उनीहरुसंग संवाद गर्न पनि पुगे । माग पूरा गराइ छाड्ने प्रतिवद्धता व्यक्त गरे । नतिजा हेर्न बाँकी नै छ । बर्षौँदेखि पूरा हुन नसकेको माग पूरा गराउने तरिका बदल्दा पूरा हुने बाटोमा हिडेको देखिएको छ । पूरा भएन भने फेरि नयाँ विधि अपनाएर माग राख्नु पर्छ ।




