
गोरखामा पाँच वटा सोलार लिफ्ट खानेपानी आयोजना निर्माण
जिल्लाका बिभिन्न स्थानीय तहमा सोलार लिफ्ट खानेपानी आयोजना निर्माण भएका छन् । शहीदलखन गाउँपालिकामा तीन, भीमसेन थापा गाउँपालिका र गोरखा नगरपालिकामा एक/एक वटा आयोजना निर्माण भएको हो । इफरवास परियोजना अन्तरर्गत युनिका फाउण्डेशन र रिन्यूवन वल्र्डको आर्थिक तथा प्रविधिक सहयोग, सम्बन्धित पालिकाको साझेदारी र गोरेटो गोरखाको व्यवस्थापनमा सो आयोजनाहरु निर्माण भएका हुन् ।
कुल पाँच वटा आयोजनाबाट दुईसयभन्दा धेरै घरधुरी लाभान्वित भएका परियोजनाले जनाएको छ । युनिका फाउण्डेशन र रिन्यूवन वल्र्डको तर्फबाट प्रतिआयोजना २५ लाख रकम सहयोग गरिएको परियोजनाका क्षेत्रीय प्राविधिक अधिकृत देवेन्द्र अधिकारीले बताए । उनका अनुसार आयोजना अन्तरगत १५ घनमिटरको पम्प ट्याङ्की र २० घनमिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माण भएका छन् ।
पाँचवटा आयोजना निर्माणमा दुई करोड ७० लाख खर्च भएको अधिकारीले बताए । जसमा परियोजनाको एक करोड २५ लाख, पालिकाको ८० लाख ५५ हजार, प्रदेश सांसद कोषबाट २० लाख र ४४ लाख ६९ हजार बराबरको श्रमदान रहेको उनले जानकारी दिए । परियोजनाले धार्चे गाउँपालिकामा बिद्युतको समस्या सामाधान गर्ने उद्देश्यले सोलार सिस्टमबाट बिजुली निकाल्ने तयारी गरिरहेको परियोजनाका व्यवस्थापक प्रकाश गुरुङले बताए । शुक्रवार जिल्ला सदरमुकाममा भएको परियोजना समापन कार्यशालामा उक्त कुरा जानकारी गराइएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिसस उपप्रमुख लिला परियार, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, भीमसेन थापा गाउँपालिकाकी उपाध्यक्ष अमृता देवी वस्ती (भट्ट), शहिद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, भिमसेन थापाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परियोजनाले आयोजना निर्माण भएका पालिकाभित्रका बिद्यालयहरुमा स्वास्थ्य र सरसफाई सम्बन्धी क्रियाकलाप पनि संचालन गरेको थियो । सात हजार बढी बिद्यार्थी लाभान्वित भएको जानकारी गराइएको थियो ।




