
विवादका कारण लिगलिग महोत्सव तथा लिगलिगे दौड स्थगित
विवाद बढ्दै गएपछि असोज १७ गतेदेखि संचालन हुने भनिएको प्रथम लिगलिग महोत्सव तथा १२ औं संस्करणको लिगलिगे दौड प्रतियोगिता अन्तिम समयमा स्थगित भएको छ । शुक्रवार सार्वजनिक सूचना जारी गर्दै पालुङटार नगरपालिकाले अर्काे सूचना जारी नभएसम्मका लागि महोत्सव स्थगित गरिएको जनाएको हो । गत बिहिवार बसेको नगर कार्यपालिकाको बैठकले महोत्सव स्थगित गर्ने निर्णय गरेको मेयर विवस चिन्तनले बताए ।
‘यसअघि लिगलिगकोट बिकास अभियानले लिगलिगे दौड आयोजना गर्दै आएको थियो,’ उनले भने, ‘यो बर्षबाट पालिकाले अपनत्व लिएर गर्न खोजेका थियौँ तर, त्यो संस्थाले केही स्थानीय उचालेर महोत्सव हुन नदिने प्रयास ग¥यो ।’ स्थानीयको असन्तुष्टीका बीच जवरजस्ती महोत्सव गर्नु उचित नहुने भन्दै तत्कालका लागि स्थगित गरिएको मेयर चिन्तनले जानकारी गराए ।
महोत्सवको सह–आयोजक बन्न उक्त संस्थालाई आग्रह गर्दा आर्थिक कारोवारको जिम्मेवारी दिनुपर्ने माग राखेपछि समस्या भएको उनले बताए ।
‘यसअघि सीमित घेराभित्र रहेर एउटा व्यक्ति बिशेषले संचालन गर्दै आएको लिगलिगे दौडलाई पालिकाले अपनत्व लिएर दायरा फराकिलो बनाउन खोजेकोमा सबै राजनीतिक दल र सरोकारवालाहरु सकारात्मक हुनुहुन्थ्यो तर, केही सीमित व्यक्तिले आफ्नो पञ्जाबाट फुस्कन नदिन अनावश्यक रुपमा मान्छे उचाले,’ मेयर चिन्तनले भने । सो क्षेत्रमा नभएपनि अन्य क्षेत्रमा महोत्सव गरिने उनको भनाइ छ ।
नगरपालिकाको आयोजनामा यही असोज १७ देखि २१ गतेसम्म लिगलिगकोटमा महोत्सव हुन लागेको थियो । महोत्सवमा लिगलिग क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक परम्परासँग सम्बन्धित प्रदर्शनी, हस्तकला र शिल्पकला प्रदर्शनी, स्थानीय परम्परागत नृत्य तथा संगीत प्रस्तुत गरिने बताइएको थियो । महोत्सवको आवश्यक सबै तयारी पुरा भइसकेपनि बिशेष कारणवश अन्तिम चरणमा स्थगित गर्नु परेको नगरपालिकाले जनाएको छ ।




