| सोमवार, कार्तिक २३, २०८३

घुष् खान्या र घुष् दिन्या यी दुवै बराबर दोषी हुन्

पूर्वी भुरे–टाकुरे राज्य एकीकरण गरिसकेपछि राजा पृथ्वीनारायण शाह पश्चिमतर्फको भू–भाग पनि समाहित गर्न नुवाकोट पुगे । उनी त्यहाँ बिरामी परे । उनले आफ्नो अन्त्यकाल आएको सम्झेर मनमा लागेका विचार आफ्ना भारदारलाई सुनाए । बिसं. १८३१ माघ १ गते देहावसान हुनुअघि बताएका कुरा दिव्योपदेश भन्ने चलन छ ।

दिव्योपदेशमा देशमा न्याय निसाफ बिगार्ने भनेको घुुसले नै हो भन्ने सिलसिलामा ‘घुष् दिन्या र घुष् षान्या, ईन दुईको ता धन जीव गरि लियाको पनि पाप छैन, ई राजा(राज्य)का महासतुर हुन्’ पृथ्वीनारायणको विचारमा घुस लिने र दिने दुवै दोषी हुन् । यी दुवैथरी व्यक्ति राज्यको महाशत्रु हुन् । त्यसैले यी दुवैथरी व्यक्तिको जीउ–धन जफत गरी सर्वस्वहरण गरिएमा पनि कुनै पाप (अनुचित) लाग्ने छैन भन्ने बुझिन्छ ।

वास्तवमा घुसले नै इन्साफमा तल–माथि पार्न सक्छ र विवेक–बुद्धिलाई कुठाउँमा धकेल्छ । यसले समाजलाई नै विकृत बनाउँछ । यहाँ जिज्ञासा उठ्छ, के हाम्रो समाजमा घुस लिनेका साथै दिनेलाई पनि कार्बाही गरिएको छ ? दुई सय चौवालीस वर्षअघिको पृथ्वीविचार हिजोआजको आधुनिक जमानामा पनि त्यत्तिकै सान्दर्भिक छ । अहिले हाम्रो समाजमा घुस्याहालाई ललकार्नेको अभाव छैन ।

घुस खानेलाई उपेक्षा गर्ने, खेदो खन्नेको भीड छ तर घुस दिनेलाई पानीमाथिको ओभानो ठान्ने प्रचलन छ । घुस दिने र घुस खानेका बीचमा घुसको कुरा मात्र मिल्दैन, घुसको कारोबार भएको अतिगोप्य राख्ने विषयमा पनि गहिरो गरी समझदारी बन्छ । कैयौ कारोबारमा घुस दिनेले घुसको प्रस्ताब गर्ने, घुस खान अभिप्रेरित गर्ने, दबाब दिनेसम्मको हर्कत पनि गर्छन् ।

घुस खानु बेइमानी हो, अपराध हो । त्यत्तिकै दोष घुस दिने पनि हो । त्यसैले घुस खाने मात्र होइन, दिनेलाई पनि उत्तिकै दोषी ठहर गरी कारबाहीको दायरामा ल्याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्