| आइतवार, कार्तिक २२, २०८३

गोरखकाली मन्दिरको दान पेटिकाबाट चार महिनामा १ लाख ७८ हजार संकलन

चार महिनाको अवधिमा गोरखकाली मन्दिरको दान पेटिकामा एक लाख ७८ हजार रकम संकलन भएको छ । मन्दिर अगाडि राखिएको दुई वटा दान पेटिकामा उक्त रकम संकलन भएको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ । बिहिवार जिल्लाका सरोकारवाला निकायको रोहवरमा दान पेटिका खोलिएको अड्डाका प्रमुख बिष्णु पाठकले बताए ।

‘प्रमुख जिल्ला अधिकारीसहित कोष तथा लेखा नियन्त्रण कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, गोरखा दरवार हेरचाह अड्डाका कर्मचारी लगायतको रोहवरमा दान पेटिका खोलेका हौँ,’ उनले भने, ‘दुवै पेटिकामा गरेर कुल एक लाख ७८ हजार रकम संकलन भएको रहेछ ।’ उनका अनुसार हरेक पटक दान पेटिका भरिएपछि खोल्ने गरिएको छ ।

यसअघि गत बैशाख २६ गते खोलिएको थियो । ‘म आएपछि आजसम्म गरेर कुल तीन पटक दान पेटिका खोलियो, पहिलो पटक २०८० साल फागुन ८ गते खोल्दा १ लाख ८७ हजार र दोस्रो पटक बैशाख २६ गते खोल्दा १ लाख ५० हजार रकम संकलन भएको थियो ।’

दान पेटिकामा संकलित रकम गोरखा दरवार हेरचाह अड्डाको नाममा रहेको बैक खातामा जम्मा गर्ने गरिएको पाठकले बताए । दरवारका खरिदार (भित्रिया सुसारे) लालबहादुर खनखवास र नायव सुब्बा (मुल पुजारी) शारदा भट्टराईको संयुक्त नाममा खाता संचालनमा रहेको उनले जानकारी दिए । उनका अनुसार हाल उक्त खातामा ९ लाख ४० हजार रकम मौज्दात छ ।

उक्त रकम वातावरण सरसफाई, तत्कालका लागि गर्नुपर्ने मन्दिरका नियमित पुजाआजा लगायतका कार्यमा खर्च गर्ने गरिएको पाठकले बताए । ‘नियमित पुजाका लागि नेपाल सरकारबाट आउने रकम बर्षेनी घट्दो छ, सरकारले बजेट विनियोजन नगरेको तर नगरी नहुने मन्दिरका कार्यका लागि पनि यो रकम खर्च गर्ने गरेका छौ,’ उनले भने ।

उनका अनुसार मन्दिरको पुजाका लागि अघिल्लो आर्थिक बर्ष २५ लाख, गत बर्ष २२ लाख र यो बर्ष १० लाख ३३ हजार रकम मात्र प्राप्त भएको छ । आर्थिक कार्यविधि बनाएर उक्त रकम खर्च गर्नुपर्ने भएपनि कार्यविधि नभएका कारण हालसम्म हेरचाह अड्डाको निर्णय अनुसार खर्च हुदैँ आएको उनको भनाइ छ । आर्थिक कार्यविधि बिभाग वा मन्त्रालयबाट बनेर आउनुपर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्