
मापदण्ड बिना मासु पसलहरु संचालनमा, दुईबर्षदेखि अनुगमन छैन
प्रतिक्षा आले मगर ।
गोरखाका अधिकांश मासु पसलहरु मापदण्ड विपरीत संचालन भएको पाइएको छ । उपभोक्तालाई प्रत्यक्ष प्रभावित पार्ने मासुपसल आधारभूत मापदण्ड बिनै सञ्चालन भइरहेको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा. अनन्त कोइरालाका अनुसार बधशाला र मासु बिक्री गर्ने स्थान(फ्रेस हाउस) छुट्टाछुट्टै हुनुपर्छ । तर कपितय व्यापारीले मासु बेच्ने स्थानमै बध गर्ने गरेका छन् ।
डा. अनन्तका अनुसार मासु पसलमा अनिवार्य टायल र सिसा लगाउनुपर्ने, व्यापारीलाई एप्रोन अनिवार्य र सरसफाईमा बिशेष ध्यान दिनुपर्ने प्रावधान छ । तर यी मापदण्डहरु केही व्यापारीबाहेक अन्यले लागू गरेको नदेखिएको उनले बताए । सरसफाइमा समेत ध्यान नदिँदा गुणस्तरहीन मासु खरिद र उपभोग गर्न बाध्य भएको उपभोक्ताहरुको गुनासो छ ।
जिल्ला सदरमुकामको बसपार्कस्थित बधशालाका व्यवसायीहरुले खुल्लमखुल्ला पशुहरुको बध गरेर मासु बिक्री वितरण गर्दै आएका छन् । साथै बजारका अन्य टोलहरुमा सञ्चालित फ्रेस हाउसले पनि मापदण्ड बिपरीत आफूखुशी सञ्चालन गरेका छन् ।
मापदण्ड अनुसारको गुणस्तरीय फ्रेस हाउस सञ्चालनका लागि नगरपालिकाबाट तथा प्रदेश सरकारबाट अनुदान लिएका फ्रेस हाउसहरुले पनि मापदण्डअनुसारको संरचना नबनाई अनुदान दुरुपयोग गरेको पाइएको छ ।
मासु व्यवसायी संघका जिल्ला अध्यक्ष भैरव पुडासैनीले धेरै मासु पसलहरु मापदण्ड विपरीत संचालन भएको स्वीकार गरेका छन् । ‘ब्रोइलर कुखुराको मासु बिक्री वितरण गर्ने ८० प्रतिशत व्यपारीहरुले मापदण्ड पु¥याएका छन्, बाँकीले नियम बिपरीत व्यवसाय संचालन गरिरहेको अवस्था छ’, उनले भने, ‘अन्य राँगो, भैँसी लगायतका मासु बिक्रेताहरुको अबस्थाबारे भन्न सक्दिनँ ।’ अरुलाई नटेर्ने व्यवसायीहरुको प्रवृतिका कारण यस्तो अवस्था सिर्जना भएको उनी बताउँछन् ।
जिल्लाका मासु व्यवसायको नियमन गर्ने जिम्मेवारी स्थानीय सरकारको रहेको भेटेरीनरी डा. कोइराला बताउँछन् । ‘मासु पसलहरु दर्ता गर्ने, सुधारका लागि कार्यक्रमहरु ल्याउने लगायत सम्पुर्ण कामहरु स्थानीय सरकारको हो’, उनले भने, ‘हामीहरुले निगरानीचाँहि गर्छौँ, अनुगमनको क्रममा प्राविधिक सहयोग पनि प्रदान गर्ने गर्छौं।’
कार्यालयले विगत ५–६ वर्षदेखि मासु पसल सुधार कार्यक्रम संचालन नगरेको उनले जानकारी गराए । गोरखा नगरपालिकाले केही वर्षदेखि मासु पसलहरुमा अनुगमन हुन नसकेको स्वीकार गरेको छ । नगरपालिका पशु शाखाकी टंककुमारी पुर्जाका अनुसार पालिकाले दुई वर्ष यता मासु पसलको अनुगमन गरेको छैन ।




