
मनसुन सक्रिय भएपछि गोरखा उच्च जोखिमको सूचीमा
मनसुन सक्रिय भएपछि गोरखालाई उच्च जोखिमको सूचिमा राखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले वुधवार ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । जसमध्ये गोरखालाई पनि उच्च जोखिमको सूचिमा राखिएको छ । ‘रेड अलर्ट’ ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ ।
महाशाखाका मौसमविद गोविन्द झाले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने प्रक्षेपण छ । असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर वर्षाको सम्भावाना छ ।
यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरिएको छ । यसैगरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको समेत जोखिम छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुनसक्ने सम्भावना छ ।
ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने आशंका छ । त्यसैले मौसमविदले सर्वसाधारणदेखि सबै सरोकारवालालाई उच्च सतर्कता तथा पूर्व तयारी अपनाउन अनुरोध गरेका छन् ।




