
अजिरकोटमा स्याउ र बटारे जस्ता कमसल ब्राण्डका मदिरा आयात गर्न नपाइने
स्याउ र बटारे जस्ता कमसल ब्राण्डका मदिराजन्य पदार्थको आयातलाई अजिरकोट गाउँपालिकाले रोक लगाउने भएको छ । सोमवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले बाहिरबाट आयातित त्यस्ता कमसल खालका मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न व्यापारीहरुलाई आग्रह समेत गरेको छ ।
‘त्यस्ता मदिराहरु छन् भने १५ दिनभित्र खाली गरिसक्न भनेका छौ,’ गाउँपालिका अध्यक्ष दिपक देवकोटाले भने, ‘त्यस पश्चात त्यस्ता खालका रक्सी बिक्री वितरण नगर्न भनेका छौ ।’ कमसल खालका मदिराले स्वास्थ्यमा नकरात्मक असर पर्ने भएकाले बन्द गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा पालिकाले यो बर्षदेखि बटारे रक्सी बन्द गरी घरेलु मदिरा अर्थात कोदोको रक्सीलाई प्रोत्साहन गर्ने जनाएको थियो । त्यस्तै, कोदो रक्सीको स्तर निर्धारण गरी ब्राण्डिङ गर्ने बताइएको थियो ।
सोही नीति अन्तरगत कमसल मदिरा आयातमा रोक लगाउने निर्णय गरिएको पालिका अध्यक्ष देवकोटाले बताए । ती कमसल मदिराजन्य पदार्थको ठाउँमा पालिकाभित्र उत्पादित कोदोको रक्सीलाई प्रोत्साहन गर्न पालिकाले सुझाव समेत दिएको छ ।




