| मङ्लबार, कार्तिक २४, २०८३

व्यवसायीक स्वच्छता र उद्यमशिलता कायम गर्न व्यवसायीलाई प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला स्थीत व्यवसायीहरुलाई व्यवसायीक स्वच्छता र उद्यमशिलता कायम गर्न अनुरोध गरेको छ । नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै प्रशासनले जिल्लाका व्यवसायीहरुलाई व्यवसायीक स्वच्छता कायम गर्न अनुरोध गरेको हो । सोमवार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले सो आग्रह गरेको हो ।

व्यवसायीक स्थलमा सबैले देख्ने गरी व्यवसायीक दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, मुल्यसूची आदि राख्न प्रशासनले भनेको छ । यस्तै, दर्ता गरेर मात्र व्यवसाय संचालन गर्न र समय समयमा दर्ता नविकरण गर्न पनि अनुरोध गरिएको छ । इलेक्ट्रोनिक्स, हार्डवेयर, विद्युतीय वा यान्त्रिक सामाग्री जस्ता लामो समयसम्म प्रयोगमा रहने वस्तु भए त्यसको ग्यारेन्टी वा वाटेन्टी उल्लेख गर्नुपर्ने बताइएको छ ।

प्रज्वलनशिल, दुर्घटनाजन्य वा सजिलै टुटफुट हुन सक्ने बस्तुहरु भए त्यस्ता बस्तुको सुरक्षाका लागी अपनाउनुपर्ने सावधानी सम्बन्धी विवरण उल्लेख गर्न पनि प्रशासनले भनेको छ । बस्तु वा सेवाका उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता तथा सेवा प्रदायकलाई आफ्नो दायित्व पालना गर्न आग्रह गरिएको छ ।

प्रशासन कार्यालयले विभिन्न निकायबाट यसअघि अनुगमनका क्रममा व्यवसायीहरुलाई दिएको निर्देशनको पुर्ण पालना गर्न पनि सुझाएको छ । संघ, प्रदेश र स्थानीय सरकारलाई र्तिनुपर्ने कर, राजश्व, दस्तुर, जरिवाना नियमानुसार तिरेको हुनुपर्ने र तिरेको रसिद सुरक्षित राख्न पनि प्रशासनले आग्रह गरेको छ ।

खरिद बिल अनिवार्य हुनुपर्ने, वस्तु वा सेवा बिक्री गर्दा अनिवार्य रुपमा बिक्री बिल दिनुपर्ने र त्यसको अभिलेख राख्नुपर्ने, सबै प्रकारका व्यवसायको सरसफाई तथा स्वच्छता कायम गर्नुपर्ने, नापतौल प्रमाणपत्र, ढक तराजु नविकरण गर्नुपर्ने र प्याकिङ गरेर बिक्री वितरण गर्नुपर्ने सामाग्रीहरुमा सामाग्रीको खुद तौल, उत्पादन मिती, म्याद सकिने मिती तथा ब्याच नम्बर उल्लेख गर्नुपर्ने सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्