| मङ्लबार, कार्तिक २४, २०८३

सुनको सिक्री लुट्नेहरु प्रहरीको फन्दामा

गत साउन २३ गते गोरखा नगरपालिका–५ रोहटेपानीमा ७५ बर्षीया रत्नकुमारी मग्रातीको घाँटीबाटै सुनको सिक्री लुटियो । साँझ करिव पाँच बजेको समयमा कालो स्कुटरमा आएका दुई युवक सिक्री लुटेर फरार भए । बाटोमा हिडिरहेकी उनले मास्क लगाएर आएका ती युवकको न पहिचान गर्न सकिन् न स्कुटर नम्वर याद गर्न ।

गत भदौ २३ गते फेरि त्यही किसिमको घटना दोहोरियो । साँझ पाँच बजेतिर सदरमुकामको छहरेस्थित बालमन्दिर माध्यमिक बिद्यालय क्षेत्रमा बाख्रा चराइरहेकी दाउरी माया रानाले लगाएको सुनको सिक्री घाँटीबाटै लुटियो । मास्क लगाएर कालो स्कुटरमा आएका दुई युवक सिक्री लुटेर फरार भए । श्रृङ्खलावद्ध यस्ता घटनाले सर्वसाधारणमा स्वभाविक रुपमा त्रास फैलायो ।

बजार क्षेत्रकै सुरक्षा व्यवस्था कमजोर भएको हो कि भन्ने प्रश्नले प्रहरीमाथि पनि दबाब सिर्जना भयो । दिनदहाडै उही प्रकृतिको घटना दोहोरिन थालेपछि प्रहरीले बिशेष सुरक्षा रणनीति अपनाउँदै चोरीमा संलग्नको खोजी कार्यलाई तिव्रता दियो । छुट्टै अनुसन्धान टोली गठन गरि परिचालन ग¥यो । अन्ततः सिक्री लुटेराहरु समात्न प्रहरी सफल भयो ।

लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको शहिद लखन गाउँपलिका–९ नाम्जुङका ३८ बर्षीय सुनिल बिक र ललितपुर उपमहानगरपालिका–१६ का ३७ बर्षीय शैलेश ताम्राकार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सघन खोज अनुसन्धानपछि शनिवार गोरखा नगरपालिकाको लक्ष्मीबजारबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।

‘हामीले त्यो नम्वरको स्कुटरलाई निगरानीमा राखेका थियौँ,’ उनले भने, ‘त्यो दिन पनि त्यही नम्वरको स्कुटरमा त्यही हुलिया भएका दुई जना युवक गोरखा प्रवेश गरेको सूचना पायौँ, चारैतिरबाट घेरा हालेर पक्राउ गर्न सफल भयौँ ।’ लुटपाटको घटनामा उनीहरु संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको डिएसपी श्रेष्ठले जानकारी दिए । उनीहरुको साथबाट घटना हुँदा प्रयोग भएको कपडा र स्कुटर समेत बरामद गरिएको बताइएको छ । उनीहरु बिरुद्ध चोरी सम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्