| मङ्लबार, कार्तिक २४, २०८३

छ बुँदे घोषणा पत्र जारी गर्दै सकियो प्रदेश स्तरीय न्यायिक भेला

गोरखामा गण्डकी प्रदेश स्तरीय २ दिने प्रथम न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश भित्रका सबै पालिकाहरुको न्याय सम्पादनमा एकरुपता ल्याउने उद्देश्यसहित गोरखा नगरपालिकाले उक्त भेला आयोजना गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार एक कार्यक्रमका बीच भेलाको उद्घाटन गरेका थिए ।

शनिबार ६ बुँदे घोषणा पत्र जारी गर्दै उक्त भेला सम्पन्न भएको छ । गण्डकी प्रदेशका ८५ वटै पालिकाका न्यायिक समितिका संयोजक (पालिका उप्रमुख÷उपाध्यक्ष), न्यायिक पदाधिकारी र कर्मचारीहरुले प्रदेशभित्रका सबै पािलकाहरुले न्याय निरुपण गर्दा अबलम्बन गर्नुपर्ने कार्यविधिमा एकरुपता ल्याउने प्रतिबद्धतासहित घोषणपत्र जारी गरेका हुन् ।

घोषणापत्रमा न्यायिक समितिले माग गरेअनुसार प्रदेश सरकारले सबै पालिकाहरुमा न्यायिक सहजकर्ताको दरबन्दी आपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएकोमा आभार व्यक्त गरिएकोे छ । यस्तै, गण्डकी प्रदेश स्तरीय न्यायिक समितिले विवाद निरुपण गर्दा अबलम्बन गर्नुपर्ने कार्यविधिगत एकरुपता कायम गर्न प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा प्रस्तावित कार्यविधिलाई प्रदेशभरका पालिकाबाट आवश्यक प्रक्रिया पूरा गरी ऐनको रुपमा स्थापित गर्ने पनि घोषणापत्रमा लेखिएको छ ।

न्याय सम्पादनका कार्यहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक कानुन निर्माणका लागि प्रदेश तथा संघीय सरकारसँग माग गर्ने उक्त पत्रका भनिएको छ । न्यायिक समितिको प्रदेश स्तरीय भेला कम्तिमा वर्षको एकपटक हरेक जिल्लाहरुले आलोपालो गर्ने र आगामि वर्ष बागलुङ नगरपालिकाले उक्त भेला आयोजना गर्ने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।
न्यायिक समितिका संयोजक तथा सदस्यहरुले न्यायिक कार्य सम्पादन गर्दा न्यायमैत्री इजलाशको व्यवस्था र कालोकोट सहितको औपचारिक पोशाक सहित कम्तीमा हप्ताको १ दिन विवादको सुनुवाइ गर्ने गरी एकरुपता कायम गर्ने घोषणा भेला मार्फत गरिएको छ ।

यसैगरी, प्रदेशभरका न्यायिक समितिका हरेक संयोजक तथा सदस्यहरुले लगाउने लोगोको व्यवस्था कायम गर्न बागलुङको बागलुङ नगरपालिकाको न्यायिक समितिको संयोजकको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको पनि घोषणापत्रमा लेखिएको छ ।

गोरखा नगरपालिकाको न्यायिक समिति संयोजक एवं उपप्रमुख मसलीमाया थोकरको अध्यक्षता एवं गण्डकी प्रदेश महान्यायधिवक्ता चिरञ्जीवि शर्मा पौडेलको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्