
लाप्राकी महिलाको अति प्रशंसनीय काम
कुनै–कुनै यस्ता काम हुन्छन्, जुन काम गर्न न सरकारले सिकाउँछ, न गैरसरकारी संस्थाहरुले । वातावरण, परिस्थिति, परिवेशले सिर्जना गरेको जटिलता समाधान गर्न गाउँलेहरु स्वतस्फूर्त जाग्छन् । आवश्यकताले सिर्जना गरेको काम अति महत्वपूर्ण, अति वजनदार, अति दमदार हुने गर्छ ।
धार्चे ४ लाप्राक गाउँका महिलाहरु गत साउन महिनादेखि यस्तरी जागे, उनीहरुलाई न कसैले उकास्यो, न कसैले सम्हाल्यो, आफैआफै मिलेर गाउँको विकृति हटाउन अघि बढे । विकृति हटाउने क्रममा गल्ती गर्नेबाट संकलन गरेको जरिबानाले फेरि गाउँलेकै लागि अति उत्तम काम गरेर नमूना प्रदर्शन गरेका छन् । यो काम उनीहरुको मुक्तकण्ठले प्रसंसा नगरिरहन सकिँदैन ।
बर्षौँदेखि सो गाउँमा जुवातास र त्यसबाट सिर्जित समस्याले घर–घरमा द्वन्द्व थियो, घरपरिबार बिग्रहको पथमा थिए । यो अबस्थालाई कुनै पनि हालतमा नियन्त्रण गर्नुपर्ने निश्कर्षमा महिलाहरु पुगे । त्यसैले उनीहरुले जुवातासको विकृति हटाउने अभियान छेँडे । अभियान अन्तर्गत लाप्राकको हिमाली आमा समूहले चौतारा निर्माण गरेको छ । जुवातास खेल्नेहरुलाई कारवाही गरी संकलन भएको रकमले चौतारा निर्माण गरेका हुन् ।
लाप्राकको पुरानो गाउँ नजिकै रहेको बसपार्कमा चौतारा निर्माण गरिएको छ । चौतारा बनाएपछि नजिकिँदै गरेको दशैमा गाडीबाट ल्याएको सामान ओसार पसार र संकलन गर्न सहज हुन्छ । यहाँ भारी बिसाउने, सामान मिलाउने सजिलाका लागि चौतारा बनाएका हुन् । चौतारा निर्माणका लागि उनीहरुले गतबर्ष देउसी भैलो खेलेर संकलन गरिएको रकम पनि प्रयोग गरिएको छ ।
लाप्राकमा यही साउनदेखि आमा समूहहरु दैनिक रुपमा घरघरमै गस्ती गर्दै हिँडेका थिए । आमा समूहले जुवातास खेल्दै गरेको भेटेमा घरबेटी सहित जुवाडे र च्याखे थाप्नेहरुलाई जरिवाना गर्ने गरेको थियो । यसरी संकलित रकमको साह्रै राम्रो काममा उपयोग गरेर प्रसंसा कमाएको छ ।




