
चार पालिकामा ‘हिमाली जडिबुटीहरुको संरक्षण तथा दिगो व्यापार’ परियोजना लागू हुने
जिल्लाका चार स्थानीय तहमा ‘हिमाली जडिबुटीहरुको संरक्षण तथा दिगो व्यापार’ परियोजना संचालन हुने भएको छ । बारपाक सुलिकोट, अजिरकोट, धार्चे र चुमनुब्री गाउँपालिकामा पाँच बर्षका लागि उक्त परियोजना संचालन हुने भएको हो ।
जैविक विविधता संरक्षण र जलवायु परिवर्तन न्यूनिकरण तथा अनुकुलनमा योगदान गर्ने संस्था (एन्साब)को आयोजनामा सो परियोजना संचालन हुन लागेको संस्थाले गत बिहीवार जिल्ला सदरमुकाममा कार्यक्रम आयोजना गरि जनाएको छ । वन उपभोक्ता महासंघ (फेकोफन), डिभिजन वन कार्यालय गोरखा र स्थानीय तहहरुसँग समोन्वय गरेर परियोजना संचालन गर्ने एन्साबले बताएको छ ।
दुई हजार मिटर भन्दा अग्लो स्थानमा पाइने हिमाली जडिबुटीहरुको संरक्षण र तीनको दिगो व्यापारका लागी संस्थाले काम गर्दै आएको एन्साबका लागी जिल्ला वन अधिकृत दिक्षा अधिकारीले बताइन् । हिमाली जिल्लाहरुको जैविक विविधता संरक्षण तथा जिविकोपार्जनमा सहयोग पु¥याउने उदेश्य सहित परियोजना संचालन गर्न लागिएको उनले जानकारी दिइन् ।
जडिबुटीको उपलब्धता, तीनको संकलन अबस्था, सामुदायीक वनको सक्रियता, स्थानीय परम्परा संस्कृति लगायतका आधारमा स्थनीय तहहरु छनोट गरिएको उनको भनाइ छ । ‘छनोट प्रक्रियाको दोस्रो चरण अन्तरगत यी पालिकाहरु सम्भावित पालिकाका रुपमा छनोट भएका हुन्, फाइनल लिस्ट अझैँ आउन बाँकी छ’, उनले भनिन् । छनोट भएकास्थानीय तहहरुसँग समन्वय गरेर परियोजना संचालन गर्ने क्षेत्र निर्धारण गर्न बाँकी रहेको बताइएको छ ।
फेकोफनका जिल्ला अध्यक्ष भुमि प्रसाद रेग्मीको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, फेकोफनका केन्द्रिय उपाध्यक्ष बिर्खबहादुर शाही, डिभिजन वन कार्यालयका प्रमुख मदन मोहन शाण्डिल्य, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, जडिबुटी व्यवसायी लगायतको सहभागीता रहेको थियो ।




