| सोमवार, कार्तिक २३, २०८३

वधशालाको उचित व्यवस्थापन गर

कार्यान्वयन गर्न नसकेर असफल भएका योजनाहरुको नगरपालिकामा चाङ नै छन् । ती मध्ये वधशालाको उचित व्यवस्थापन पनि एक हो । झण्डै १५ बर्षअघिदेखि व्यवस्थापनको हल्ला चलेपनि गोरखा सदरमुकामस्थित पुरानो बसपार्क मुनि रहेको वधशाला अझै व्यवस्थापन हुन सकेको छैन । उचित व्यवस्थापन अभावमा बसपार्क लगायत आसपासका क्षेत्रहरु निकै प्रदुषित र दुर्गन्धित समेत बन्दै आएको छ ।

सो क्षेत्रमा खुलमखुल्ला राँगो, भैसीको मासु बिक्री वितरण हुन्छ । खुल्लमखुल्ला यसरी बिक्री हुने मासु कति स्वस्थकर होला ? वध स्थलको पनि उचित व्यवस्थापन नहुदाँ झिँगा भन्कने र वातावरण नै प्रदुषण हुने गरेको छ । सो क्षेत्र आसपास बस्ने स्थानीयलाई त्यसको दुर्गन्धले कति समस्या बनाएको होला ? त्यो भोग्नेलाई मात्र थाहा छ । यसले स्वास्थ्यमा पनि नकरात्मक असर पारिरहेको छ । यस्ता बिषयमा सम्बन्धित निकाय गम्भिर हुनु जरुरी छ ।

व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई छ । तर अरुलाई नै असर पर्ने गरी व्यापार व्यवसाय गर्नु गलत हो । सम्बन्धित निकायले वधशालाको उचित व्यवस्थापन गरिदिनुपर्छ । यो उसको दायित्व पनि हो । तर यसरी उनीहरु मात्र जिम्मेवार भनेर उम्कने छुट व्यवसायीलाई छैन । व्यवसायीहरु एक आपसमा जुटेर आफैले वधशालाको उचित व्यवस्थापन गर्दा पनि फरक पर्दैन । वधशालाको उचित व्यवस्थापनमा उनीहरु आफै पनि संक्रिय हुनु आवश्यक छ ।

यस अघिको कार्यकालमा केही प्रयासहरु भएपनि सफल भने भएको छैन । सोही प्रयासलाई सार्थक बनाउन सम्बन्धित निकाय अग्रसर भएर वधशाला व्यवस्थापनमा जुट्नुपर्छ । व्यवसायीले पनि यसका लागि सकारात्मक सहयोग र समन्वय गर्नु जरुरी छ । वधशालाको उचित व्यवस्थापनमा सबैले एक्यवद्धता जनाउँदै आवश्यक सहयोग र समन्वय गरौ ।

प्रतिक्रिया दिनुहोस्