
मेडिकल अधिकृत डा. कुशवाहमाथि कुटपिट
गण्डकी गाउँपालिका–१ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज मेडिकल अधिकृत डा. दिलिपकुमार कुशवाहमाथि हातपात भएको छ । सोमवार ताङ्लीचोक स्वास्थ्य चौकीमा बिरामी जाँच्ने क्रममा आफूमाथि हातपात भएको कुशवाहले दरौँदीलाई बताए ।
वडा नम्वर २ का पूर्व अध्यक्ष समेत रहेका देउबहादुर गुरुङसंगै रहेका केही युवाले आफूमाथि दुव्र्यवहार गर्दै हातपात गरेको उनको आरोप छ । ‘म कार्यकक्षभित्र बिरामी जाँच्दै थिएँ,’ डा. कुशवाहले भने, ‘बाहिर चर्काे चर्काे स्वरमा हल्ला आयो । बाहिर निस्केर मैले मलाई काममा डिस्टर्ब भयो यहाँ हल्ला नगर्नुस् भनेको मात्र के थिएँ, हामी को हो चिनेको छस् ? तँ जस्तो डाक्टर हामीलाई चाहिदैन भनेर थर्काउन थाले ।
काम गर्ने वातावरण अनुकूल नभएपछि म बिरामी जाँच गर्न सक्दिन भन्दै बाहिर निस्कन लागेँ । त्यहीबेलामा अश्लिल शब्द प्रयोग गर्दै ममाथि हातपात गरे ।’ आफूले प्रतिकार गर्दा हात भाँचिएको उनले बताए । ‘मैले प्रतिकार गर्दा नाकमा मुक्का हाने । अनि मैले नि हात उठाएँ । मेरो हात भाँचिएको छ, उपचारका लागि अहिले काठमाडौंमा छु,’ उनले भने । यता पूर्व वडाअध्यक्ष देउबहादुर गुरुङले भने पहिले डा. कुशवाहले हातपात गरेको बताए ।
‘गाउँलेहरु शिविर भनेर टिकट नलिई आएका रहेछन्,’ गुरुङले भने, ‘डाक्टरले टिकट नलिई के भोज खान आएको भनेर हप्काए । त्यही बिषयमा स्वास्थ्य संस्था बाहिर अहेवसँग भनाभन भइरहेका बेला डाक्टर एक्कासी बाहिर आएर उता जा भन्दै अपशव्द प्रयोग गरी थर्काए । डाक्टर भएर पनि यस्तो शब्द बोल्ने ? भनेको मात्र थिएँ, म बिरामी जाच्दिन भनेर झोला बोकेर निस्किए । प्रेम भाइले यस्तो अपशव्द बोल्न भएन भन्दा कुशवाहले प्रेम भाईलाई सिधै हेलमेटले हिर्काए । गुरुङले भने ।
प्रतिकार गर्ने क्रममा दुवैबिच हात हालाहालको अवस्था आएपछि आफूहरु मिलेर छ्टयाएको उनले जानकारी गराए । घटनाबारे पालिकामा खवर गरेपछि पालिका अध्यक्ष, प्रशासकीय अधिकृत, प्रहरी आएर सम्झाइ बुझाई गरेको गुरुङले सुनाए ।
यता मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले डा. कुशवाहमाथि कुटपिट भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस बिज्ञप्ती जारी गर्दै उनीहरुले उक्त घटनाले आफूहरु असुरक्षित महसुल गरेको र सुरक्षाको प्रत्याभूती नभएसम्म स्वास्थ्य केन्द्रबाट प्रवाह गरिने सेवा ठप्प गरिएको जनाएको छ । यता पालिकाले भने आपसी छलफलबाट समस्या समाधानको प्रयास भइरहेको बताएको छ ।




