
चुमनुब्री गाउँपालिकाले सुरु ग¥यो पर्यटकसँग शुल्क उठाउन
चुमनुब्री गाउँपालिकाले आफ्नो पालिका भ्रमणमा आएका पर्यटकसंग शुल्क लिन सुरु गरेको छ । गत गाउँसभामा निर्णय गरेअनुसार पालिकाले मंगलबारदेखि पर्यटन शुल्क संकलन गर्न सुरु गरेको हो । मंगलबार पहिलो दिन २५ जना विदेशी पर्यटकसँग शुल्क संकलन गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।
पालिकाको आर्थिक ऐन ०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग एकहजार र नेपालीसँग दुईसय रुपैयाँका दरले राजस्व उठाउन सुरु गरेको थियो । सोही निर्णय अनुरुप मंगलबारदेखि पर्यटकसँग शुल्क उठाउन सुरु गरिएको उनले जानकारी दिए । स्वदेशी पर्यटकको हकमा आन्तरिक रुपमा लार्के पास गर्न आउने, रिसर्च गर्न आउनेसँग मात्र शुल्क उठाइने अध्यक्ष लामाले बताए ।
‘स्वदेशी पर्यटक भनेको यहाँ आउने नेपाली सबै भन्न खोजेका हौइनौं । भरिया, गाइडलाई शुल्क लाग्दैन,’ उनले भने, ‘आन्तरिक रुपमा लार्के पास गर्नका लागि, चुमभ्याली घुम्न आउने, यहाँका प्राकृतिक कुराहरुका बारेमा रिर्सच गर्न आउनेहरु सँगमात्रै शुल्क उठाइन्छ ।’ मनासलु बेस क्यापमा भएको फोहोर संकलन तथा प्रकृतिको संरक्षण गर्ने उदेश्यले पर्यटकसँग शुल्क उठाउने अभियान सुरु गरिएको उनले बताए ।
भदौ २० गते पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गरेर उक्त निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिएका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) क्षेत्रभित्र पर्ने मनास्लु क्षेत्र तथा चुमभ्याली जाने पर्यटकसँग सम्बन्धिन संरक्षण तथा निकुञ्ज ऐनबमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले शुल्क उठाउने गरेको छ ।
आफ्नो अधिकार क्षेत्रभित्र पनि शुल्क उठाउन नपाउँदा अपेक्षित कर संकलन गर्न नसकिएको र कोषले पनि उठेको शुल्क बाँडफाँट नगरेको पालिकाले जनाएको छ । यता एमक्यापले सोमबार पालिकालाई पत्रचार गर्दै नियम विपरीत संरक्षण भित्र सबै निकायबाट प्रवेश शुल्क उठाउँदा दोहोरो, तेहोरो शुल्क भई पर्यटकहरुमा नकारात्मक सन्देश फैलिई उजागर भईरहेको यस मनासलु संरक्षण क्षेत्रको पर्यटन ह्रास हुन सक्ने संम्भावना भएकोले पदयात्रा प्रबेश शुल्क संकलन गर्ने निर्णय कार्यान्वयन नगराउन अनुरोध गरिएको छ । तर पालिकाले भने एमक्यापको उक्त पत्रचारप्रति आपति जनाएको छ ।




