| मङ्लबार, कार्तिक २४, २०८३

१५ वर्ष बित्यो, बसपार्कको बधशाला गफमै सीमित

प्रतिक्षा आले मगर ।
गोरखा नगरपालिकाले सदरमुकामस्थित बसपार्कको तल रहेको बधशालालाई व्यवस्थापन गर्ने भनेर चर्चा चलेको झन्डै १५ वर्ष बितिसक्यो । हालसम्म न त बधशाला निर्माण भएको छ, न त त्यहाँका व्यवसायीहरुले व्यवस्थित रुपमा मासु बेचबिखन नै गरेका छन् । बधशालाको उचित व्यवस्थापन नहुँदा बसपार्क लगायत आसपासका क्षेत्रहरु निकै प्रदुषित र दुर्गन्धित बनेको छ ।

त्यसक्षेत्र वरपर मुख नछोपी हिँड्न सक्ने अवस्था नरहेको त्यहाँ बसोबास गर्ने स्थानीयहरुले गुनासो गरेका छन् । अझ गर्मी मौसममा निकै दुर्गन्ध फैलिने गरेको उनीहरु बताउँछन् । पशु सेवा विज्ञ केन्द्रले बधशालाको नाममा अहिलेसम्म लाखौँं रुपैँया खर्च गरेपनि बधशाला ब्यबस्थित हुन सकेको छैन ।

बसपार्कभन्दा तल बसोबास गर्ने स्थानीय बासिन्दाले त्यस क्षेत्रमा लामो समयदेखि खुल्लमखुल्ला राँगो, भैँसी काट्ने र मासु बेच्ने गरेका छन् । गोरखा नगरपालिकाका निवर्तमान अध्यक्ष राजन राज पन्तले आफ्नो कार्यकालमा यसलाई व्यवस्थापन गर्नका निम्ति धेरै प्रयास गरेता पनि पूरा भने नभएको बताएका छन् ।

‘बधशाला निर्माणको विषयमा अगाडिदेखि नै कुरा चलेको थियो, मेरो पालामा पनि बधशाला निर्माण गर्न पहल त भएको थियो तर त्येतिबेला व्यवसायीहरु मानेनन्’, उनले भने, ‘हामीहरुले त जग्गा छनोट गरी अनुदान समेत दिन्छौँ भनेका थियौँ त्यतिबेला ।’ तर, व्यवसायीहरुको चहाना सोही ठाउँमा राँगो, भैँसी काटेर बेच्ने रहेको उनले बताए ।‘बसपार्कमा व्यवस्थित बधशाला बनाउन अनुकूल नभए वडा नं ७ पस्लाङमा ठाउँ पनि दिन्छौँ भनेका थियौँ तर व्यवसायीहरु मानेनन्, अहिलेको अवस्था के छ थाहा भएन’, उनले भने ।

सरकारी निकायहरुले पटक पटक चेतावनी दिँदा समेत व्यवसायीहरुले अटेर गर्दै आएको गोरखा नगरपालिका वडा नं ६ का वडाअध्यक्ष राजेन्द्रकुमार जोशीले बताए । ‘वडा नं ७ को पस्लाङतिर बधशाला बनाउने रे भन्ने कुरो सुनेको थिए तर न बधशाला बनेको छ, न त व्यवस्थित तरिकाले मासु बिक्री वितरण भएको छ’, उनले भने, ‘मैले त मेयरसाबलाई बसपार्कका व्यवसायीहरुलाई नगरपालिकाको बहुउदेशीय भवनमा स्थानतरण गरौँ भनेको पनि हुँ तर त्यहाँका व्यवसायीहरु आफै अटेर गर्ने गरेका छन् ।’ बधशाला निर्माणको जिम्मा व्यवसायीहरु स्वयमको रहेकोउनले बताए ।

‘खासमा व्यवसायीहरुले लै बधशालाको व्यवस्था मिलाउनु पर्ने हो । सरकारी निकायले त उहाँहरुको प्रयासमा सहयोग मात्र गर्ने हो, तर उहाँहरु व्यवस्थित वधशाला निर्माण गर्न अटेर गर्नुहुन्छ’, वडाअध्यक्ष जोशी भन्छन्, ‘वातावरण पनि निकै फोहोर भयो, मासु पनि स्वस्थ हुन सकेन, व्यवस्थापन गरिदिनु प¥यो भनेर धेरैजनाले गुनासो गरेका छन् । हामीले पटक पटक व्यवस्थित रुपमा पसल संचालन गर्ने चेतावनीदिएका पनि हौँ ।

आज (आइतबार) बिहान मात्र पनि त्यहाँ पुगेर फेरि पनि चेतावनी दिएर आएको छु । ’वडाअध्यक्ष जोशीले बधशाला व्यवस्थापन गर्ने सम्बन्धमा नगरपालिकामा कुरा उठाउने बताएका छन् । पशु बध गर्ने ठाउँ ब्यवस्थित नहुँदा उपभोक्ताहरुले दुर्गन्धित, माखा भन्केका मासु खान बाध्य छन् । बध स्थलको लागि सदरमुकामको बसपार्क भन्दा तलको ठाउँ सबै व्यवसायीहरुको लागि राम्रो र पायक पर्ने ठाउँ भएकाले मासु व्यवसायीहरुको तर्फबाट धेरै पहिला प्रस्ताव समेत गएको त्यहाँका ब्यापारीले बताएका छन् ।

बसपार्क भन्दा तलको जग्गामा बध गर्न, बध गर्दा हुने फोहोरहरुको व्यवस्थापन गर्न पनि नजिकै खोल्सी रहेको भन्दै मासु ब्यवसायीहरुले उक्त ठाउँ प्रस्ताव गरेका थिए । तर, बध स्थल निर्माणको लागि सदरमुकाम बाट ३ किलोमिटर टाढाको जग्गा आबश्यक पर्ने प्रावधान रहेको पशु सेवा विज्ञ केन्द्रले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्