| मङ्लबार, अशोज ५, २०८३

पत्रकारिताको गिर्दाे साख कसले जोगाउने ?

भीमलाल श्रेष्ठ ।
‘राज्यका तीन अङ्गहरु मात्रै थिए, तर रिपोेर्टरहरुको ग्यालरीतर्फ हेर्नुहोस् त, राज्यको चौथो अंग बसेको छ, जो अन्य अंगहरु जत्तिकै महत्वपूर्ण छ ।’
यो भनाइ बेलायतका राजनीतिज्ञ एडमन्ड वर्कको हो । बेलायतको संसदमा आमसञ्चार माध्यमलाई सूचनाको पहुँचका लागि त्यहाँका पत्रकारहरुले सन् १७३१ देखि १७९१ सम्म संघर्ष गर्नुपरेको थियो । त्यही संघर्षका सफलताका कारण उनले पत्रकारितालाई चौथौ अंगको उपमा दिइएको थियो । पत्रकारिताले पाएको यो सम्मानित उपमा एउटा मान्यता मात्र हो । पत्रकारिता चौथो अंग भनेर कुनै बैधानिक घोषणा नगरिएको भएता पनि यसको महत्वले गर्दा राज्यका अन्य अंग जत्तिकै महत्व र चर्चा यसले पाएको छ । बरु पत्रकारिताले राज्यका तीन अंग व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाले गरेका कामकारवाहीको निगरानी राख्ने र खवरदारीसमेत गर्दछ ।
सूचना, शिक्षा, मनोरन्जन, उत्प्रेरणा दिने, खबरदारी गर्ने जस्ता भिन्न र चुनौतीपूर्ण कार्यले नै पत्रकारिताले मर्यादित उपमा पाएको हो । आवाज विहीनहरुको आवाज, समाजको पहरेदारको रुपमा पनि पत्रकारिताप्रति नागरिकको विश्वास छ । आमसञ्चार माध्यम एउटा उद्योग हो भने त्यहाँबाट प्रकाशन तथा प्रसारण हुने समाचार तथा अन्य सामग्री उत्पादन हो । पाठक, स्रोता र दर्शक यसका उपभोक्ता हुन । पत्रकारिता विश्वासमा अडेको पेशा हो । विश्वास गुमेको खण्डमा पत्रिका पर्चा, रेडियो , टिभिमा प्रसारण हुने समाचार भजन कीर्तन बाहेक अरु केही हुन सक्दैन । त्यसैले आमसञ्चार माध्यम सञ्चालन गर्ने र त्यसमा काम गर्ने हरेक पत्रकारहरुको पहिलो कर्तव्य हो पत्रकारिताको सिद्धान्तको पालना । शुद्धता, सन्तुलन, विश्वसनीयता, शिष्टता, नैतिकता, स्वच्छता र उत्तदायित्व लगायतका सिद्धान्तको परिपालना बेगर स्वघोषित पत्रकार बन्ने बाहेक मर्यादित र व्यवसायिक पत्रकारिता सम्भव हुदैन ।
छापाबाट सुरु भएको नेपाली पत्रकारिताको इतिहास रेडियो, टेलिभिजन हुदै अनलाइन र सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोगसम्म आइपुगेको छ । मूलूकमा लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मात्र नेपाली पत्रकारिता क्षेत्रमा भएको विकासको गतिलाई हेर्ने हो भने अचम्म मान्नुपर्छ । तर आर्थिक संकट, चरम राजनीतिकरण, दक्ष जनशक्तिको अभाव, अपर्याप्त भौतिक पूर्वाधार, पेशागत असुरक्षा, व्यवसायिकताको अभाव, स्पष्ट नीतिको अभाव, नयाँ नयाँ प्रविधिको बढ्दो प्रयोग जस्ता चुनौतीको चक्रव्युहमा नेपाली पत्रकारिता फँस्दै गएको छ । यथार्थपरक, वस्तुनिष्ठ समाचार प्रकाशन र प्रसारणले नै पत्रकारिता जगतप्रति जनविश्वास बढाउँछ । प्रेस स्वतन्त्रता भनेको लगाम बिनाको घोडा होइन । पत्रकारिताको पनि एउटा निश्चित मापदण्ड छ । पत्रकार तथा आमसञ्चार माध्यमले के गर्न हुने ? के गर्न नहुने ? भनेर प्रेस काउन्सिलले पत्रकार आचारसंहिता बनाएको छ । पत्रकारिता निश्चित, नीति, नियम, आचारसंहिता र सिद्धान्तको आधारमा चल्ने विधा हो ।
सूचना तथा सञ्चार प्रविधिमा भएको विकाससंगै आएको नयाँ माध्यम(न्यु मिडिया) हो । न्यु मिडियासंगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु बढेका छन । न्यु मिडिया र सोसल मिडियाको बढ्दो प्रयोगले सूचनाको पहुँचमा मात्र विस्तार भएको छैन । यसबाट हुने मिथ्या सूचनाका प्रवाहले समाजमा भ्रम समेत फैलाएको छ । छापा माध्यम, रेडियो र टेलिभिजन मात्र आमसञ्चारका माध्यम हुन भन्ने मान्यता परम्परागत हो । तर न्यु मिडिया र सोसल मिडियामा आउने सूचनालाई समेत समाचार ठानिदिने प्रवृत्तिले पनि पत्रकारिताप्रति जनविश्वास घट्दै गएको देखिन्छ । विभिन्न माध्यममार्फत हामीले पाइरहेको सबै सूचना सही नहुन सक्छ । आमसञ्चारका माध्यममार्फत आएका सूचनाहरु सम्पादित हुन् । जुन सूचना बारे सम्वन्धित सञ्चार संस्था जवाफदेही हुन्छ । आमसञ्चार माध्यममा पत्रकारहरु कार्यरत हुन्छन जसलाई आचारसंहिता पालना अनिवार्य छ । तर सामाजिक सञ्जालका प्रयोगकर्ता सबै नागरिक हुन । उनले जे लेखेर पोष्ट गर्न पनि सक्छन् भन्ने कुरा हामीले बुझाउन सकिरहेका छैनौं । नियमनको अभावमा डेडलाइनको बाध्यता नभएका विभिन्न समाचार माध्यमको नाम दिएर विभिन्न पेज बनाएर सूचना, भिडियो, तस्वीर पोष्ट गर्ने अनि युटयुबमा भिडियोमार्फत घरभित्र श्रीमान श्रीमती वीच भएको झगडाबाहिर ल्याउनेहरुले समेत पत्रकारका रुपमा प्रश्रय पाउनाले पनि पत्रकारिताको साख गिर्दाे छ । तर सामाजिक सञ्जालमार्फत आइरहेका कतिपय सामाग्रीहरु असम्पादित हुन्छ भन्ने कुराहरुलाई पत्रकारहरुले बुझाउनु सक्नुपर्छ ।
हुन त हामी बहुदलीय लोकतान्त्रिक राजनीतिक समाजमा छौं । हरेक नागरिकले राजनीतिक आस्था र विश्वास राख्न पाउने कुरालाई नकार्न सकिन्न तर पछिल्लो समय हाम्रो समाजमा नागरिक, पेशाकर्मीहरु पनि राजनीतिक आस्थाको आधारमा विभाजित र पूर्वाग्रही बन्दै गएको पनि देख्न सकिन्छ । त्यसको फलस्वरुप समाचारमा समेत पूर्वाग्रह देखिनु, एउटा सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारको विषयमा अर्काे पत्रकारले विरोधको जनमत तयार पार्दै हिड्ने जस्ता प्रवृत्ति पनि बढ्दै गएको छ । स्वार्थ समूह, एकाध राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि, अपराधी समूहले आफ्नो पक्षमा समाचार नलेखेवापत पत्रकारलाई विभिन्न ट्याग लगाईदिने चलन पनि रहेको पाइन्छ । पत्रकारिता तटस्थ हुनु पर्छ भन्नु आदर्श मात्र हुन जान्छ । यो पक्षीय नै हुन्छ । तर यो पत्रकारिताको मूल्य र मान्यतामा आधारित पक्षीय हुन अनिवार्य छ । जस्तै बलात्कार, हत्या, कुटपिट, चोरी जस्ता घटनामा पत्रकारिता पीडितको पक्षमा हुन्छ, पीडकको पक्षमा कदापी हुन सक्दैन । त्यसैले पत्रकारिताको पक्षधरता कानुनी शासन, मानवअधिकार, शान्ति, न्याय, विकास, स्थिरता, शोषित र पीडितमा रहन्छ ।

समाजमा जुन पेशाको महत्व रहन्छ, त्यसमा चुनौतीको चाङ हुनु पनि स्वभाविक हो । पत्रकारिता पेशाको गरिमा जति उच्च छ , यो पेशा मर्यादित बनाउन हामी पत्रकार आफू पनि नैतिकवान हुन अपरिहार्य छ । पत्रकारिता पेशाको मर्यादा कायम राख्न दबाब, अभाव र प्रभावबाट मुक्त हुनुपर्छ । पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा समाचार लेख्न नभ्याउने तर प्रेस परिचयपत्र झुण्ड्याउने मोह, औपचारिक कार्यक्रम आसन, भाषण र अनुगमनमै रमाउने, प्रवृत्ति पनि देखिन थालेको छ ।

पत्रकारिताका यी समस्या र चुनौतीलाई चिरेर सम्भावनाको खोजी गर्नुपर्ने कर्तव्य हामी पत्रकारकै हो । मैले गोरखामै रहेर दुईदशक भन्दा बढी अवधि यही पेसामा बिताइसकेको छु । मेरो लेखको आशय कसैलाई आरोप लगाउने होइन । पत्रकारिता गरिरहेका हामी सबै पत्रकारहरु एउटै डुङ्गामा सयर गरिरहेका सहयात्रीहरु हौं । यदि डुङ्गा डुब्यो भने हामी सबै डुब्ने छौं । पत्रकारितालाई पेशा बनाएकाहरुले पत्रकारिता छाडेर अन्यत्र जाने छुट पनि छैन । त्यसैले पत्रकारिताको साख जोगाउन पहिलो त पत्रकार आफै लाग्नु पर्छ अनि पत्रकारितालाई मजबुत बनाउने र सुझाव दिने कर्तव्य नागरिकको पनि हो ।

पत्रकारिता कमजोर हुनु भनेको वाचडग, ल्यापडगमा परिणत हुनु हो । हाम्रो सामु नागरिकप्रतिको उत्तरदायित्व पनि छ । हामी समाजप्रति जवाफदेही बन्नु नै पर्छ । समाचार, विचार, विज्ञापन र सम्पादकीयमा फरक छुट्याउनु नै पर्छ । विचार निजी हो तर समाचारमा पूवाग्रह राख्ने छुट पत्रकारलाई छैन । पत्रकारिताको साखलाई बढाउन हामीले आफैलाई नियमन र स्वमूल्याँकन गर्ने हिम्मत गर्नुपर्छ । पत्रकारिता रहर र लहडको विधा होइन । यो पेशाको पहिलो सर्त हो लेख्ने सीपको विकास ।

पहिले त पत्रकार बन्न आफैमा अध्ययन, तालिम र अभ्यास जरुरी हुन्छ । कानुनको अनभिज्ञता कसैलाई पनि क्षम्य हुदैन । कानुन उल्लंघन भएको खण्डमा पत्रकार पनि सजायँ भोग्न तयार हुनु पर्छ । त्यसैले हाम्रो पेशाको साख उच्च राख्न सके पत्रकारिता पेशामा आरोप, समस्या र चुनौती मात्र छैन सूचना तथा प्रविधिको विकासले थुप्रै अवसरहरु पनि हामी माझ पस्किएको छ ।

(कान्तिपुर टेलिभिजनका सम्वाददाता श्रेष्ठ विगत दुई दशकदेखि पत्रकारितामा सत्रिय छन् ।)

प्रतिक्रिया दिनुहोस्