
उहियाका महिला समुहले फलाए ‘मार्सी धान’
विशेषगरी जुम्लामा फल्ने स्वादिलो मार्सीधान अब गोरखामा पनि खेती गर्न थालिएको छ । केहीबर्षअघि व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओली र भूपू प्रधानमन्त्री प्रचण्डलाई खुवाएपछि एकाएक चर्चाको शिखर चुमेको मार्सीधान धार्चे गाउँपालिका–३ उहियाका महिला समूहले सामुहिक रुपमा खेती गर्न थालेका हुन् ।
गोरखाको उच्च पहाडी भूभाग उहियामा यसपटक पहिलो पटक खेती गरिएको हो । २० रोपनी क्षेत्रफलमा गरिएको मार्सीधानको खेती अहिले धमाधम भित्र्याउन थालिएको निवर्तमान वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए । धेरै महंगो र स्वादिलो भनेर लोकप्रिय बनेको मार्सी धानको उहियाका २१ जना महिलाहरु मिलेर खेती गरिएको पूर्व वडाअध्यक्ष गुरुङले बताए ।
हाल धमाधम धान काट्न सुरु गरिएको उनले जानकारी दिए । ‘विगत ४ दिनदेखि धान काट्न सुरु गरिएको छ’, उनले भने, ‘पहिलो पटक खेती गरेता पनि राम्रो उत्पादन भएको छ । महिला आमा, दिदीबहिनीहरु एकदम उत्साहित भएका छन् ।’ गाउँघरमा उत्पादन हुने कृषि उपज बाँदरले खाएर हैरान पारेपछि महिलाहरुले सामुहिक रुपमा मार्सी धान खेती सुरु गरेको गुरुङ बताउँछन् । जिल्ला समन्वय समितिकी सदस्य प्रमिना घलेको पहलमा धान खेती गरिएको उनले बताए ।
‘गाउँघरमा बाँदर आतंकले कुनै पनि खेतीबाली भित्र्याउन सकिएन’, पूर्व वडाअध्यक्ष गुरुङले भने, ‘सामुहिक खेती गरियो भने आलोपालो गरेर बाली कुर्दा पनि धेरै सास्ती हुदैन भनेर महिलाहरु एकजुट भएर मार्सी धान खेती गरेका हुन् ।’ २१ जना मिलेर खेती गरेपछि बाली कुर्नुपर्दा पनि २१ दिनमा पालो आउने हुँदा धेरै कठिनाइ नपर्ने उनले बताए ।
उहियामा बिगत बर्षहरुमा पनि मार्सी धान खेती हुन्थ्यो, तर त्यसको उपयोग घरायसी रुपमा मात्र गरिन्थ्यो । यसपटक भने व्यवसायिक उत्पादनका लागि सामुहिक रुपमा खेती गरिएको स्थानीयको भनाइ छ । ‘यहाँको रैथाने बालीहरु कोदो, मकै, गहुँ आदिमा बाँदर लागेपछि त्यसको विकल्पमा मार्सी धान लगाउन थालेको हो’, पूर्व वडाअध्यक्ष गुरुङले भने, ‘यहाँ उत्पादन हुने रैथाने बालीहरु मदिरा उत्पादनमा बढी प्रयोग हुने र त्यसले समाजमा बिकृति फैलाउने भएकाले पनि महिलाहरुले मार्सी धान उत्पादनलाई प्रथामिकतामा राखेकोहुन् ।’
गाउँमा मार्सी धान उत्पादन हुन थालेपछि चामाल आयात समेत न्यूनिकरण हुने र मासीधान निर्यात हुने उनको भनाइ छ ।उहियामा उत्पादन हुँदै आएका कोदो, गहुँ, मकै बालीबाट अधिकांश मदिरा उत्पादनमा प्रयोग हुँदै आएको छ । कोदो, मकै, गहुँ आदिको विकल्पमा मार्सी धान आएपछि मदिरा उत्पादन् घट्ने, बिकृति घट्ने, आयात घट्ने, निर्यात बढ्ने आशा स्थानीयहरुको छ ।
मार्सी धान प्रतिपाथीको रु पाँचसयका दरले बिक्री भइरहेको छ । महिला समूहकी अध्यक्ष पासमाया गुरुङको मोबाइल नंबर ९८६२९२५१७७ नंबरमा र जिसस सदस्य प्रमिना घलेको ९८४६४०१२४४ मा फोन गरी मार्सीधान माग गर्नेको ओइरो लागेको उनले बताए । बजारको कुनै समस्या नरहेको बरु माग धान्न हम्मेहम्मे भएको उनले बताए ।
तर, गाउँमा मार्सी धान उत्पादन हुन भएपनि कुटानी पिसानी मिल नहुँदा धानै बेच्न बाध्य हुनुपरेको उनको भनाइ छ । यहाँका महिला समूहलाई कुनैपनि तहको सरकारको सहयोग छैन । कम्तिमा ४०, ५० हजार रुपैयाँ पर्ने कुटानी पिसानी मिल उपलब्ध गराएको भए सर्वसाधारण किसान उत्साहित हुने उनको भनाइ छ । गाउँलेहरुले अझैँ पनि ढिकी, जाँतोमा धान कुटानी पिसानी गर्दै आएका छन् । कुटानी पिसानीका लागि उहियाबासीले आधुनिक मिल समेत माग गरेका छन् ।




