
लौठसल्ला र चिउरी संरक्षणमा जुट्यो वन कार्यालय
डिभिजन वन कार्यालय गोरखाले बहुउपयोगी लौठसल्ला र चिउरीको बोटलाई संरक्षण गर्ने अभियान सुरु गरेको छ । प्राकृतिक वासस्थानमै बोटहरु जोगाउने उद्देश्यसहित संरक्षण अभियान संचालन गरिएको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।
‘जलवायु परिवर्तन लगायत प्राकृतिक तथा मानवीय कारणले यी प्रजातीका रुखहरु लोपोन्मुख हुने खतरा बढ्दो छ,’ उनले भने, ‘यी प्रजातिको स्वस्थानीय संरक्षण गर्दै बिउ बगैँचाहरुको स्थापनामा जोड दिन थालेका छौँ ।’ गतबर्ष धार्चे गाउँपालिका–५ सिङ्लाको नाङस्याङ सामुदायिक वनको करिव दुई हेक्टर क्षेत्रफलमा रहेको लौठसल्लाका बोटहरुलाई ट्यागिङ गर्दै घेरावार गरिएको उनले जानकारी दिए । ‘मान्छेले जथाभावी रुख नकाटुन् भनेर ट्यागिङ गरेका हौँ, करिव ५० वटा बोटमा ट्याग लगाएका छौं,’ उनले भने ।
कुल सात लाख खर्चेर उक्त काम गरिएको उनले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा मरेका विरुवाहरुको ठाउँमा नयाँ बिरुवा पनि रोपिएको छ । यता चिउरी संरक्षण अभियान अन्तरगत गण्डकी गाउँपालिका–१ मा रहेको पिपलडाँडा र पाँचभाई चिउरी कवुलियती वनमा रहेको चिउरीका बोटहरुलाई पनि ट्यागिङ गर्दै तारवारले संरक्षण गरिएको कार्यालयले जनाएको छ । करिव एक सय ६० वटा चिउरीको रुखमा ट्यागिङ गरिएको बताइएको छ ।
कार्यालयका अनुसार उक्त योजनाका लागि गतबर्ष करिव चार लाख रकम विनियोजन भएको थियो । करिव दुई हेक्टर क्षेत्रफलमा रहेको चिउरीको नर्सरी पनि उत्पादन गर्ने तयारी भइरहेको कार्यालय प्रमुख शाण्डिल्यले बताए । बिउ संकलनका लागि पनि बोटहरु संरक्षण गर्न थालिएको उनको भनाइ छ ।
कार्यालयका अनुसार लौठसल्लालाई बहुमूल्य प्रजातिको रुपमा लिइन्छ । नेपालमा पाइने तीन प्रजातिका लौठसल्लामध्ये गोरखामा वालिचेना प्रजाति मात्र पाइने बताइएको छ । यता बहुउपयोगी रुपमा लिइने चिउरीलाई जडिवुटीको रुपमा पनि प्रयोग गरिने कार्यालयले जनाएको छ ।




