
बहुविवाह गरेर विदेशिन लागेका गुरुङ एयरपोर्टबाटै पक्राउ
आरुघाट गाउँपालिका वडा नं. ६ आप्रिकका २८ बर्षीय सुरज गुरुङ कतार जान लाग्दा एयपोर्टबाटै पक्राउ परेका छन् । बहुविवाह गरेर विदेशिन लागेको आरोपमा उनलाई प्रहरीले गत सोमबार एयरपोर्टबाटै पक्राउ गरी हिरासतमा राखेको हो ।
उनीविरुद्ध आफ्नै जेठी श्रीमती रिता गुरुङले गत सोमबार जिल्ला प्रहरी कार्यालय गोरखामा बहुविवाह शीर्षकमा जाहेरी दरखास्त दर्ता गरेकी थिइन् । सुरजले कान्छी घोतानेसंग दोस्रो विवाह गरेको आरोप लगाउँदै जेठी श्रीमतीले जाहेरी दरखास्त दर्ता गरेकी हुन् ।
उनीविरुद्ध सोही दिन मुद्दा दर्ता गरी अदालतबाट पक्राउ गर्ने अनुमति लिई त्रिभुवन विमानस्थलसंग समन्वय गरेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनलाई बुधबार २६ गते हिरासतमा राखी अनुसन्धान गर्न गोरखा जिल्ला अदालत गोरखाबाट म्याद थप अनुमति लिई घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




