
सिजनमा किसानले पाएनन् युरिया मल
अनुपमा अनाल ः पालुङटार नगरपालिका वडा नं १ खोप्लाङको दरौदीफाँटमा सुरेश कुमाल धान गोड्दैछन् । पाँचजना खेतालाको साथमा धान गोड्दै गरेका उनको अनुहार मलिन छ । धान गोडेपछि हाल्ने युरिया मल बजारमा नपाएपछि अब उत्पादन घट्ने चिन्ताले उनलाई पिरोलेको छ ।
‘४ रोपनी खेतमा १५ किलो मल चाहिन्छ’, उनले भने, ‘छेबेटार, चोरकाटे सबैतिर पुगेँ, तर एक दाना पनि मल पाइन । १७ मुरी धान फल्ने खेत हो । अब मल नहाले फसल घट्छ ।’ मल खोज्दै बजार चाहारेका अर्का किसान कृष्णबहादुर कुमालको पनि ब्यथा उस्तै छ । ‘खोजेको बेला न मल पाईन्छ, न औषधि’ कुमालले भने ‘मल नपाएपछि अब यसै गोडेर छाड्नु प¥यो, के गर्नु । तीन रोपनी खेत छ, यसपालि मल पनि पाइएको छैन । धानमा पनि राते, सेते रोग देखिएको छ ।’ बुढेसकालमै भएपनि खेतिकिसानी मा सक्रिय रहेका ६९ बर्षीय भीम बहादुर कुमाललाई धान गोड्दा हाल्न मात्रै एक बोरा मल चाहिन्छ । तर उनले पाउन सकेका छैनन् । कृषि प्राविधिका अनुसार धान गोडेपछि प्रतिरोपनी ३ किलो युरिया मल हाल्नुपर्छ । यसले बाली विकासमा सघाउँछ । तर मल खोज्दै सहकारी पसल पुगेका किसानहरु रित्तै फर्कन बाध्य छन् । जिल्लाका किसानलाई मल उपलब्ध गराउदै आएको उपभोक्ता सहकारी संघले भने जिल्लामा एकमहिना यता मल नभित्रिएको जनाएको छ । संघले कृषि सामाग्री कम्पनी लिमिटेडको बीरगञ्ज डिपो अन्तर्गत नारायणगढबाट मल ल्याउदै आएको छ । बिरगन्ज डिपोले गोरखा सहित १८ जिल्लामा मल पठाउँछ । तर एक महिना यता अभाव भएको भन्दै गोरखामा मल नपठाएको सहकारीका ब्यबस्थापक विष्णु बगालेले जानकारी दिए ।
‘वीरगन्जले विराटनगर, जनकपुरमा जति भनेपनि मल पठाएको थाहा भएको छ । तर हामीसँग बेईमानी ग¥यो’ उनले भने ‘केहीसमय अघि विरगञ्ज डिपोले नारायणगढ डिपोमा आठ गाडी मल पठाएको रहेछ । हामीले पाएनौँ । २०÷३० बोरा लैजानु भनेका थिए । किसानले घेर्छन् भनेर ल्याएनौँ ।’ एक टिूप मलका लागि रकम डिपोजिट गरेपनि मल नआएको उनले बताए । ब्यबस्थापक बगालेले भने ‘गत शुक्रबार एक गाडी मलका लागि नारायणगढमा तीनलाख १६ हजार रुपैया डिपोजिट गरेको हो । अहिलेसम्म मल आएको छैन’ उनले भने ‘ धानको पकेट क्षेत्रमा नै मल अभाव छ । पालुङटार क्षेत्र दरौदीफाँट, नाम्जुङ, तान्द्राङ, मसेल, आरुघाट लगायतका ठाउँबाट दैनिक मल चाहियो भन्दै फोन आउँछ ।’ मल खोज्दै सह कारीमा दैनिक सय÷डेढसय किसान आइपुग्ने उनले बताए । मल आपुर्तिमा समस्या रहेकोबारे सहकारीले केन्द्र र प्रदेश मन्त्रालय मा पनि ध्यानाकर्षण गराएको उनको भनाई छ । ‘प्रदेश मन्त्रालयमा फोन गरेर मल पाएनौँ भन्यौँ, केन्द्र सरकारमा पनि लिखित रुपमा ध्यानाकर्षण गराउने भनेर अध्यक्ष काठमाण्डौ जानुभएको छ ।’ सहकारीका अनुसार गोरखामा धान गोडने बेला एकसय ६८ मेटिूक टन मल आबश्यक पर्छ । जेठमा ल्याएको मल किसानलाई यसअघि नै उपलब्ध गराएकाले अब १२६ मेटिूक टन मल आबश्यक पर्ने बगालेले जानकारी दिए । जिल्लाका गाउँपालिका तथा नगरपालिकाको सिफारिसका आधारमा संघले कृषि सहकारीहरुलाई मल उपलब्ध गराउदै आएको छ । यसअघि मलको कारोबार गर्न कृषि सहकारीहरु जिल्ला कृषि विकास कार्यालयमा सुचिकृत हुनुपथ्र्यो । तर अहिले सहकारीहरु स्थानिय तहमा सुचिकृत हुनुपर्छ ।




