| सोमवार, कार्तिक २३, २०८३

होटल व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नहोओस्

मनास्लु क्षेत्र नेपालकै एक विकसित हुदै गएको पर्यटकीय क्षेत्र हो । यहाँ गतबर्ष नौहजार ७८२ विदेशी पर्यटकले अवलोकन गरेका छन् । यस बर्ष यो संख्या अझै बढ्ने अनुमान गर्न सकिन्छ ।

मोटरबाटो पुगेपछि धेरै पदमार्गमा पर्यटक घटिरहेका छन् । अरु क्षेत्र जाने कार्यक्रम रद्ध गरी पर्यटकहरु पर्यटक मनास्लु क्षेत्रमा आएका हुन् । मनास्लु क्षेत्रमा सिर्दिबास, पाङसिङसम्म मोटरबाटो पुगिसकेको छ । यसबर्ष अझै माथिसम्म मोटरबाटो पुग्नेछ । जसले गर्दा पदमार्ग मासिँदै छ ।

पर्यटन पदमार्ग मासिएपछि पर्यटकको आकर्ष पनि घट्दै जान्छ अनि पर्यटकको संख्या घट्ने नै छ ।पर्यटक घट्छ भनेर मोटरबाटो नबनाउनु त हुदैन, तर बैकल्पिक पदमार्ग निर्माण गर्नु अपरिहार्य छ । यसबारेमा सबै जानकार छन्, तर किन वैकल्पिक पदमार्ग बनिरहेको छैन भन्ने सवालको जवाफ अहिलेसम्म पाउन सकिएको छैन ।

मौजुदा अबस्थामा पनि मनास्लु क्षेत्रका होटल व्यवसायीले पर्यटकबाट उतिसारो लाभ लिन सकेका छैनन् । त्यसको कारण पनि अरु केही नभएर, अरु कोही नभएर आफै हुन् । यो कसरी भने होटलमा आउने विदेशी र उनीहरुका सहयोगी नेपालीमध्य व्यवसायीले नेपालीसंग खाएको, बसेको शुल्क लिँदैनन् । निशुल्क खाने, बस्ने व्यवस्था गर्दा व्यवसाय कसरी फस्टाउन सक्छ ?
पर्यटक आफूतिर तान्ने ध्याउन्नले गर्दा व्यवसायीहरु अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका हुन् ।

मिलेर व्यापार गरेर राम्रै कमाइ हुनेमा लुछाचुँडी गरी अस्वस्थ प्रतिस्पर्धा गर्दा आफ्नै खुट्टामा बञ्चरो हाने सरह भइरहेको छ ।
लाखौँ, करोडौँ खर्चेर होटल, लज बनाउने, तर लाभ लिनेबेला गाइडहरुलाई कमिशन दिन थालेपछि कसरी व्यापार, व्यवसाय फस्टाउँछ ? व्यपारी, व्यवसायीले नाफा कमाउ, कमिशन नदेउ भन्ने मक्सत त होइन, तैपनि आफ्नै खुट्टामा बञ्चरो हान्ने गरी अस्वस्थ्य प्रतिस्पर्धा नगरेको भए हुन्थ्यो भन्नेसम्म हो ।

प्रतिक्रिया दिनुहोस्