| आइतवार, कार्तिक २२, २०८३

सेनाले सुरु ग¥यो दोभान–पाङसिङ सडकखण्डको मर्मत

लार्के सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले उत्तरी गोरखाको दोभान–पाङसिङ खण्ड मर्मत कार्य सुरु गरेको छ । केही दिनदेखि बर्षा थामिएको र पर्यटकको आवागमन बढ्न थालेपछि सवारी साधन गुड्न सक्ने बनाउन सुरु गरेको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ ।
बर्षाका कारण अबरुद्ध बनेको सो सडकखण्डको मर्मतको काम सोमबारबाट सुरु भएको जगतका बासिन्दा बिशाल घलेले बताए । ‘ठाउँठाउँमा पहिरो गएर बाटो अबरुद्ध बनेको थियो । जसका कारण आवतजावतमा निकै समस्या परेको थियो’, उनले भने, ‘बाटो मर्मतको काम सम्पन्न भएपछि भने चुमनुब्री बासीलाई निकै राहत पुग्ने छ ।’ पर्यटकलाई पनि राहत हुने उनले बताए ।
उक्त सडकखण्डमा बर्खाभरि आवतजावत पूर्ण रुपमा बन्द रहेको उनले बताए । ‘स्थानीयहरु वर्खा यामभरि निकै जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए’, उनले भने, ‘अब बाटो सफा भएसँगै आवतजावत र खाद्यान्न ओसारपोसारमा सहजता आउने छ ।’ बर्षा याममा ठाउँ ठाउँमा खसेको पहिरोका कारण समग्र चुमनुब्री बासीले खाद्यन्न ओसार पोसारमा निकै चुनौती भोग्नु परेको उनी बताउँछन् ।
सेनाले धार्चे गाउँपालिका–३ दोभानसम्मको सडकखण्ड सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । विभाग अन्तरगतको सडक बाहेक दोभानमाथिको सडकखण्डको मर्मतको काम सेनाले सुरु गरेको हो । करिब तीन दिनभित्र सम्पन्न हुनेगरी मर्मतको काम भईरहेको स्थानीय विशाल घलले जनाए ।

प्रतिक्रिया दिनुहोस्