| सोमवार, कार्तिक २३, २०८३

ट्याक्सीको भाडादर पुनरावलोकन गर

गोरखामा सञ्चालन भइरहेका ट्याक्सीले मनमौजी भाडा लिने गरेको गुनासो नयाँ होइन । ‘पुरानै हो’ भनेर सामान्यिकरण गर्ने विषय पनि यो होइन । हरमटारीबाट बसपार्कसम्म पुगनपुग एक किलोमिटर दुरीमा दुईसय रुपैयाँ असुल्नु हदै महंगो भाडादर हो । यसलाई सेवा शुल्क मान्न सकिँदैन ।
बाहिर जिल्लाका यात्रु यसरी ठगिएपछि उनीहरुले लैजाने सन्देशले गोरखाको छविमा अपुरणीय क्षति हुन्छ । पक्का पनि उनीहरुले ‘गोरखामा दिनदहाडै ठगिइन्छ’ भन्ने सन्देश फिँजाउँछन् । जति धेरै दिन यस्तो गतिविधि भइरह्यो, उति धेरै गलत सन्देश फिँजिन्छ । त्यसैले जिल्लालाई थप बद्नाम हुनबाट बचाउन यथासक्य छिटो भाडादर पुनरावलोकन गर्नुपर्छ ।
सार्वजनिक सवारी साधनको भाडा निर्धारण गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्तरको भाडा निर्धारण समिति रहेको हुन्छ । सो समितिले राजमार्गमा कुद्ने सबै प्रकारका भाडाका सवारी साधन, ग्रामीण(कच्ची) सडकको भाडादर निर्धारण गर्छ । २०७४ सालदेखि यता समितिको बैठक बसेको छैन । निश्चित समयावधिमा भाडादर पुनरावलोकन गर्नुपर्ने हुन्छ । तर गोरखामा यो विधि, विधान कार्यान्वयनमा छैन । ट्याक्सी व्यवसायी आफैले मनमौजी भाडा निर्धारण गर्दै आएका छन् ।
गण्डकी प्रदेश सरकारले २०७८ सालमा गरेको भाडा समायोजनलाई आधार मानेर आफू्हरुले भाडादर कायम गरेको गोरखा मनकामना यातायात सेवा प्रालिको दाबी छ । तर प्रालिले कायम गरेको भाडादर गण्डकी प्रदेश सरकारले तय गरेको मापदण्डभन्दा महँगो रहेको पाइएको छ । प्रदेशले गरेको भाडा समायोजन अनुसार १५ किलोमिटर दुरीको सुरुवातीमा २०० मिटरसम्मको रु. ८० र त्यसपछि प्रति २०० मिटर बराबर रु. १० रुपैया कायम गरिएको छ । १५ किमि भन्दा बढीको दुरीमा भने प्रति किमि ३७ रुपैया ५० पैसाका दरले भाडा लिन पाउने व्यवस्था गरिएको छ । तर जिल्लाको ट्याक्सी भाडादर भने प्रदेशले समायोजन गरेको भन्दा बढी महँगो छ ।
त्यसैले भाडा निर्धारण समितिले यथासीघ्र ट्याक्सीको भाडादरको पुनरावलोकन गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्