| आइतवार, कार्तिक २२, २०८३

प्रथम जिल्ला स्तरीय मेयर कप कराँते प्रतियोगितामा ७ स्वर्ण जित्दै गोनपा पहिलो

प्रथम जिल्ला स्तरीय मेयर कप कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल कराँते महासंघ गोरखाको आयोजनामा भएको प्रतियोगितामा सबैभन्दा धेरै गोरखा नगरपालिकाले सात स्वर्ण, ६ रजत र १० वटा कास्यपदक जितेको छ ।
शहिदलखन गाउँपालिका तीन स्वर्ण, दुई रजत पदक जित्न सफल भएको छ भने धार्चे गाउँपालिकाले दुई स्वर्ण, दुई रजत र ६ कास्य जितेको महासंघ गोरखाका कोषाध्यक्ष बुद्ध लामाले बताए । बारपाक सुलिकोट गाउँपालिकाले एक स्वर्ण र एक रजत पदक जितेको उनले जानकारी दिए ।
प्रतियोगितामा भिमसेन थापा गाउँपालिकाले एक रजत र दुई कास्य जितेको छ भने पालुङटार नगरपालिकाले एक रजत र एक कास्य जितेको छ । कुमुते फाइट र काता दुवैतर्फ गरी उनीहरुले उक्त पदक जितेका हुन् । पदक जित्ने खेलाडीहरुलाई नगद पुरस्कार समेत विरतण गरिएको छ ।
स्वर्ण जित्नेलाई जनही १५ सय, रजत जित्नेलाई एक हजार र कास्य जित्नेलाई पाँच सयका दरले नगद पुरस्कार वितरण गरिएको महासंघले जनाएको छ । कराँते महासंघ गोरखाका अध्यक्ष रामबहादुर थापा मगरको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्