| आइतवार, कार्तिक २२, २०८३

अझैँ पत्ता लागेन सहकारी चोर

प्रतिक्षा आले मगर । २०७७ साल पुस २१ गते गोरखाको पालुङटार नगरपालिका–९ बिर्दीबजारमा रहेको ‘मिरकोट बचत तथा ऋण सहकारी संस्था’मा चोर पस्यो । सो सहकारीबाट पाँच लाख १८ हजार नगद सोहोरेर फरार भयो । उक्त घटना घटेको झन्डै चार वर्ष बित्यो । हालसम्म चोर पक्राउ परेको छैन ।
आफ्ना सदस्यहरुबाट रकम जम्मा गरेर लगानी गर्ने तयारी गरिरहेको सो संस्थाको संकलित रकम कार्यालयको दरजबाटै चोरी भएको संस्थाको भनाइ छ । त्यतिबेला कार्यालय भित्रकै मानिसले रकम चोरी गरेको हुनसक्ने आशंका सेयर सदस्यहरुले गरेका थिए ।
प्रहरीले पनि सहकारीका पदाधिकारीहरुलाई जिल्ला प्रहरी कार्यालयमै झिकाएर अनुसन्धान ग¥यो । तर, आजसम्म घटनाबारे केही सत्यतथ्य बाहिर आउन सकेको छैन ।
त्यस्तै, गण्डकी प्रदेशभित्रकै ठूलोमध्य पर्ने भीमसेनथापा गाउँपालिका–७ स्थित ‘भीमकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड’बाट २०७८ साल असार २५ गते २६ लाख रकम चोरी भयो । उक्त सहकारी चोर्ने चोर पनि अझसम्म पत्ता लागेको छैन् । चोरले रातीको समयमा कार्यालयको सेफ नै फुटाएर चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीसँग घटनाको सिसिटिभि फुटेज पनि छ । फुटेजमा दुई व्यक्ति कार्यालयमा छिरेर चोरी गरेको स्पष्ट रुपमा देख्न सकिन्छ । तर, हालसम्म हुलिया मिल्ने व्यक्तिको पहिचान भने हुन सकेको छैन ।
सहकारीका पदाधिकारीहरुले चोरी भएको रकम सेयर सदस्यहरुबाट पूर्ति गरेको एकजना सेयर सदस्यको गुनासो छ । रकम चोर्ने एउटा, क्षतिपूर्ति भर्ने आफूहरु भन्दै सहकारीका सदस्यहरुले गुनासो पोखेका छन् । ‘अहिलेसम्म पनि चोर पत्ता लागेको छैन । त्यसैले सबैको खाताबाट थोरै थोरै रकम काट्ने कुरो छ’, एक सेयर सदस्यले बताइन् ।
सहकारीले भने आफ्नो नाफा आएको रकमले चोरी भएको रकम पूर्ति गर्ने योजना रहेको बताएको छ ।
यसैगरी, केही दिन अघिमात्र भीमसेनथापा गाउँपालिकाकै वडा नं–१ मसेल स्थित एक सहकारीमा पनि चोरी भएको छ । मसेलको खगीथोकस्थित ‘बिन्द्रावती महिला बचत तथा ऋण सहकारी संस्था’को १ लाख २८ हजार रकम चोरी भएको त्यहाँ कार्यरत कर्मचारी सुनिता श्रेष्ठले बताइन् । यही भदौ ८ गते मात्र उक्त सहकारीमा चोरी भएको हो ।
‘गाउँघरमा संचालित सहकारी हो त्यसैले, सिसिटिभि क्यामेरा, सुरक्षा गार्ड केही पनि राखेका थिएनौँ’, उनले भनिन्, ‘मेरो घर पनि यहीँ हो । घटना घटेको भोलिपल्ट बिहान खेतमा काम गर्न जाँदै थिएँ । मेरो अफिस बाटैमा पर्छ । खेतमा जाने क्रममा टाढाबाटै अफिसको ढोका खुलेको देखेँ । झस्किएर दौडदैँ आएर हेरेँ अफिसको ढोका फुटाएको रहेछ केही नसोची वडाअध्यक्षलाई खबर गरेकी हुँ ।’ बैँकमा इन्ट्री गर्न बाँकी रहेको रकम सबै चोरी भएको उनले बताइन् ।
सामान्यतया अफिसमा रकम नराख्ने गरेको उनी बताउँछिन् । ‘घटना घटेको दिन भने ढिला भएर त्यसैँ हिँडेका थियौँ, शनिबार बिदाको दिन कोही आएनौँ, रातमा त्यस्तो घटना घटेछ’, उनले भनिन् । उक्त घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
अरु दिनमा नपस्ने चोर पैसा राखेकै दिनमा पस्नुलाई सहकारीको गतिविधि मेसो पाउनेहरुबाटै घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले भने प्रहरीले सबै घटनाहरुको अनुसन्धान भइरहेको बताएका छन् । ‘घटना जति पुरानो हुँदै गयो त्यति नै त्यस सम्बन्धी प्रमाणहरु भेटिने सम्भावना कम हुँदै जाँदो रहेछ, त्यसैले समस्या भइरहेको छ’, उनले भने । यद्यपी सहकारीका पदाधिकारीहरुलाई समय समयमा कार्यालयमा उपस्थित गराई घटनाबारे फलोअप गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्