| मङ्लबार, कार्तिक २४, २०८३

पालिकामा लगाइएको ताला खोल्न गाउँपालिकाको आग्रह

दुल्लभ मावि घ्याम्पेशालको शिक्षक दरवन्दी कटौतीको बिषयलाई लिएर पालिकामा लगाइएको ताला खोल्न भीमसेन थापा गाउँपालिकाले आग्रह गरेको छ । सोमवार बिज्ञप्ती जारी गर्दै पालिकाले ताला खुलाउन आग्रह गरेको हो ।
अभिभावकहरुले घ्याम्पेशालस्थित दुल्लभ माविका बिज्ञान शिक्षक दरबन्दी कटौति गरी अन्यत्र सारिएको भन्दै विरोधस्वरुप आइतबार पालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।
पालिकाले विज्ञान शिक्षक राजुबाबु नेपालीलाई प्रचलित कानुन अनुसार कार्यपालिकाको निर्णय बमोजिम सिद्धकाली मावि तान्द्राङमा सरुवा गरेको जनाएको छ । विद्यालयको दरबन्दी कटौतिको बिरोधमा पालिकामा तालावन्दी गर्नु दुखद भएको विज्ञप्तिमा भनिएको छ । आधारभूत शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारभित्र रहेको भन्दै बढी दरवन्दी भएको बिद्यालयबाट मावि तहको एउटा पनि दरवन्दी नभएको बिद्यालयमा कनिष्ठ शिक्षकलाई सरुवा गर्नु सामान्य रहेको पालिका अध्यक्ष लोकप्रसाद बञ्जारले बताए । यस्तो कार्यले पालिकाको दैनिक सेवा प्रवाह, विकास निर्माण तथा सिंगो शैक्षिक गतिविधि समेत प्रभावित हुने भन्दै उनले छलफलबाट समस्या समाधान गर्न पालिका तयार रहेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्