| सोमवार, कार्तिक २३, २०८३

गाउँका विद्यालय टिकाउन जरुरी

जब मुलुकमा बहुदलीय प्रजातन्त्र पुनस्थापना भयो, तब विकास सिँहदरबारबाट निस्क्यो र गाउँगाउँमा पुग्न थाल्यो । शिक्षा, स्वास्थ्यको विकास धमाधम हुन थाल्यो । टोलटोलमा विद्यालय खुल्न थाल्यो । गाउँका नेताहरुले विभिन्न सकसपूर्वक गाउँटोलमा विद्यालय स्थापना गर्न थाले ।
तर अहिले ती विद्यालय पुन बन्द हुँदैछन् । अहिले गाउँगाउँका विद्यालयहरु धमाधम बन्द हुदैछन् ।
जब वैदेशिक रोजगार खुल्यो, गाउँठाउँमा युवाहरु विदेशिन थाले । विदेशबाट राम्रै कमाइ गर्न थालेपछि उनीहरुले श्रीमती, छोराछोरीलाई राम्रो स्कूल पढाउने बहानामा सहर झर्न थाले । स्कूल तह पार गरिसकेपछि उनीहरुका सन्तान पनि विदेशिन थाले ।
त्यसपछि गाउँ रित्तिदै गयो । गाउँमा मान्छे बसोबास गरे पनि बालबालिका भने रित्तिन थाले । गाउँबस्ती बालबालिकाबिहिन हुन थाले । जब गाउँबस्ती बालबालिकाबिहिन हुन थाले, तब गाउँका विद्यालय रित्तिने त स्वभाविकै भयो ।
तीन दशक अघि ती विद्यालय खुलाउन पसिना बगाउने गाउँका नेताहरु अझै छन् । यी विद्यालय रित्तिँदा र अनेक तरहले दुख गरेर मागेका शिक्षक दरबन्दी ती विद्यालयबाट काटिँदा मर्माहत हुन स्वभाविक हो ।
अहिले स्थानीय सरकार आएर विद्यालय व्यवस्थापन गर्ने जिम्मेवारी लिएपछि विद्यालयमा रहेका विद्यार्थी, शिक्षकको अबस्था हेरी पुनसंरचना गर्न थालेको छ । सो अभियानमा विद्यार्थी अतिन्यून भएका विद्यालयहरु केही तह घटेका छन्, केही नर्सरी तह मात्र राखेर अरु बन्द गर्न थालेका छन् ।
यो न गाउँका लागि सुखद समाचार हो, न मुलुकका लागि । गाउँका मान्छे गाउँमै बस्नु पर्छ भन्ने बाध्यात्मक बन्धन केही छैन । तर गाउँलाई निर्जन गराउनु हुन्न । गाउँको साख राख्नुपर्छ । गाउँको विद्यालयको साख जोगाउनु पर्छ । गाउँलाई पुन स्रोत, साधन सम्पन्न बनाएर गाउँमा नै बासिन्दाहरुलाई टिकाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्