| मङ्लबार, कार्तिक २४, २०८३

महिलाको चाडलाई बद्नाम बनाउँदै महिला

प्रतीक्षा आले मगर ।
‘तीजका बेला महादेव जस्तै प्रतापी पति पाउँ भन्ने आशिर्वाद पाउन निराहार, निर्जल ब्रत बसी महादेवकै पूजाआजा गर्ने चलन हो । अनि बिबाह भइसकेकाहरुले पनि मेरो श्रीमान महादेवजस्तै प्रतापी बनुन् भनेर निराहार, निर्जल ब्रत बसी महादेवकै पूजाआजा गर्ने हाम्रो चलन हो ।
निराहार, निर्जल ब्रत बस्नु धेरै कठिन काम हो, त्यसैले भोलिपल्टको तिथि नछुँदै अघिल्लो दिनको राती अल्लि तागतिलो खानेकुरा दर भनेर खाने परम्परा छ । भोलिपल्ट देवताको पूजा गर्नुपर्ने हुँदा अघिल्लो दिन माछामासु नखाने चलन छ’, यी भनाइहरु गोरखा क्याम्पसमा प्राध्यापनरत इन्द्रकुमारी देवकोटाको हो ।
‘तर अचेल ब्रत बस्नेले भन्दा नबस्नेले धेरै दर खाए । अचेल माइती धेरै भएर हो कि, इष्टमित्र धेरै भएर हो कि, दिनदिनै दर भनेर भोज खाने खुवाउने चलन आएको छ । खास दर खाने दिनमा यस्तो खाँदैनन् । तीजको दर भनेर बजारिकरण धेरै फस्टायो, रामरमिता धेरै भयो, तर संस्कृति बिग्रियो । यो कुरा ठिक भएन भनेर चेतना र ज्ञान हुनेहरुले बुझ्नुपर्छ’, उनले भनिन् । वर्तमान अवस्थामा संस्कृतिको नाममा बिकृति भित्रियो र भड्किलोपन धेरै भयो ।
‘सबैको आ–आफ्नै दृष्टिकोण हुन्छ, विभिन्न संघ संगठनहरुले आफ्ना कर्मचारीहरुलाई सम्मान स्वरुप दर कार्यक्रम आयोजना गर्दागर्दै अब दर नखुवाउने कार्यालयलाई त गाह्रो पर्ने भयो । त्यो कार्यालयको पनि दर भयो, त्यो संस्थाको पनि दर भयो । यसकोचाहिँ किन नभएको भनेर असजिलो पार्ने अबस्था आयो । खाने खुवाउने, नाचगान गर्ने रामरमिता गर्ने कुरा त सकारात्मक हो तर यसले बिकृति भने पक्कै निम्त्याएको छ’, उनले भनिन्, ‘तर, अहिल होटल तथा पार्टी प्यालेसमा महिना दिन अगाडिदेखि विदेशी गीत बजाएर दर खाने र नाच्ने क्रमले नेपाली समाजको आस्था र संस्कृतिमा धक्का लागेको उनको भनाइ छ ।
नेपाल ओमन चेम्बर अफ कमर्स गोरखाकी अध्यक्ष ज्ञानु अधिकारीले अहिले संस्कृतिको नाउँमा बिकृति फैलिएको बताएकी छिन् ।
तीज सबैभन्दा लामो चाड भयो । दशैँ पनि परम्परा अनुसार मनाइन्छ, तिहार पनि निर्धारित दिनभन्दा अघिपछि मनाइँदैन । फागुपुर्णिमा, चैते दशै पनि निर्धारित समयमै मनाइन्छ । तर तीज एक दिन हुन्छ, तर महिना दिन मनाइने ज्ञानु अधिकारीको भनाइ छ । ‘यो महिनादिन अघिदेखि होटलमा जम्मा भएर दर खाने प्रचललाई मैले एकदमै नकरात्मक रुपमा लिएकी छु’, उनले भनिन्, ‘मनोरञ्जनभन्दा बढी लुगा र गरगहना देखावट गर्ने प्रवृत्तिले यो प्रचलनले हुनेखाने वर्गलाई राम्रो गरेपनि मध्यम तथा निम्न वर्गालाई प्रत्यक्ष रुपमा असर पु¥याएको छ ।’
उनले यो वर्ष आफुले नेतृत्व गरेको संघसंस्थाहरुमा दर खाने कार्यक्रम नराखेको बताएकी छिन् ।
‘पोहोरचाहिँ सबै दिदीबहिनीहरुले कर गरेर ओमन चेम्बरले कार्यक्रम गरेको थियो, त्यसमा पनि मैले कसैले पनि गरगहना लगाउन नपाइने, चेम्बरकै ड्रेस लगाउनु पर्ने जस्ता नियमहरु लागु गरेकी थिएँ’, उनले भनिन्, ‘यो वर्ष भने बिकृत्ति फैलिन्छ भनेर कार्यक्रम गरेनौँ, म त निम्तो गरेको ठाउँहरुमा पनि गएकी छैन् ।’
दरको नाउँमा फैलिएको बिकृतिलाई रोक लगाउन सम्बन्धित सरोकारवालाहरु लाग्नु पर्ने उनको भनाइ छ ।
होटल भरिभराउ
हाल जिल्ला सदरमुकाम स्थित होटलहरु दर खाने खुवाउने पार्टीले भरिभराउ छन् । जिल्लामा भदौ ७ गतेबाटै दर खाने पार्टी सुरु भएको जिल्ला सदरमुकाम स्थित होटल गुर्खा इनका संचालक निधि तिमल्सिनाले बताए । ‘व्यवसायको हिसाबले मलाई त फाइदा होला तर महिनै अघिदेखि दर खाने प्रचलनचाहिँ मलाई राम्रो लागेको छैन’, उनले भने, ‘सक्नेले त खालान् अब नसक्नेलेचाँहि के खाने ?’ सिजन सुरु भएसँगै उनकोमा दैनिक जसो १–२ वटा महिला समूहहरु दर खाने कार्यक्रमका लागि आउने गरेको उनी बताउँछन् ।
‘होटल बुकिङ एक महिना अघिदेखि सुरु भएको थियो’, उनले भने, ‘एउटै महिला ३–४ पटक फरक फरक संघ संस्थाबाट दर खान आउँछन्, अहिलेको यो भड्किलो प्रवृत्तिले पैसा र संस्कृति दुवै नष्ट हुँदै गएको छ ।’ होटल गुर्खा इनमा आयोजित दर पार्टीमा आफुले कुनैपनि पेय पदार्थ अनुमति नदिएको उनको भनाइ छ ।
यस्तै, अर्का होटल व्यवसायी गौरव मास्केले तिजको नाममा विकृति फैलिएको बताएका छन् । होटल मिराकलका संचालक समेत रहेका उनले आजभोलिको तिज देखासिकी मात्र सिमित भएको बताएका छन् । ‘सबैजनालाई सामाजिक सञ्जालमा देखाउनु छ, देखासिखी गर्नकै लागि महिनौ अघिदेखि होटलहरुमा जम्मा भएर नाच्ने प्रवृति बढेको छ’, उनले भने, ‘यस्तो प्रवृत्तिले हाम्रो संस्कार हाम्रो संस्कृतिलाई पक्कै असर गरेको छ ।’ होट मिराकलमा पनि भदै ७–८ तिरैबाट दर खाने कार्यक्रम सुरु भएको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्