
विवरण उल्लेख नगरी नागरिकताका प्रतिलिपि जारी भएको भन्ने समाचारप्रति प्रशासनको ध्यानाकर्षण
विवरण उल्लेख नगरी नागरिकताको प्रतिलिपि जारी भएको बिषयमा संचारमाध्यममा प्रकाशित समाचारप्रति जिल्ला प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।
आइतवार बिज्ञप्ती जारी गर्दै कार्यालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त अभिलेखको आधारमा उक्त नागरिकताको प्रतिलिपि जारी गरिएको जनाएको छ ।
‘नागरिकता प्रतिलिपि बाहक श्यामबहादुर थापा मगरको मिति २०४१ साल जेठ ११ मा पहिलो नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कर्मचारी परिवारको नाताले जारी भएको र यस कार्यालयबाट प्रतिलिपि जारी गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त अभिलेखमा जन्मस्थान गोरखा, उमेर १८ बर्ष मात्र उल्लेख भएको र बुवा आमाको नामको महलमा केही पनि उल्लेख नभएको सन्दर्भमा सोही अभिलेख अनूरुप २०८१ साल साउन ३० गते यस कार्यालयबाट मगरको प्रतिलिपि नागरिकता जारी भएको हो,’ बिज्ञप्तीमा भनिएको छ ।
जन्मस्थान, स्थायी ठेगाना, बाबु आमाको नामथर समेतको विवरण उल्लेख गरी नयाँ प्रक्रियाबाट नागरिकताको प्रतिलिपि जारी गर्ने निर्णयसमेत शुक्रवार भइसकेको कार्यालयका सूचना अधिकारी चुडानिधि तिवारीले बताए ।




