| सोमवार, कार्तिक २३, २०८३

तिब्बती नाका खुल्दा अपार खुशी

गोरखा बजार वा धादिङ बजारबाट आरुघाट, आर्खेत, सोती हुदै खाद्यान्न लगायतका अत्यावश्यकीय सामान ढुवानी गरेर सामागाउँसम्म पुग्दा एकसाताभन्दा बढि लाग्छ । भलै अचेल पाङसिङसम्म सवारी साधन चल्छ । तर तिब्बती बजार एक दिनमा पुगेर सामान लोड गरी भोलिपल्ट बेलैमा फर्किन सकिन्छ । सामानको भाउ उस्ताउस्तै भएपनि ढुवानी भाडा अति नै कम लाग्छ । अर्थात आफ्नै याक, चौँरी, घोँडाहरुमा सामान ढुवानी गरेर ल्याउँदा त झन ढुवानी भाडा लाग्दै लाग्दैन ।
सामान मात्र किनबेच भएन, पाँचबर्षसम्म भेटघाट हुन नपाएकाहरु बल्लतल्ल भेट्न पाउँदा असीम खुशी भए । त्यति मात्र पनि होइन, आफूसंग भएका वनलसुन, यार्सागुम्बा, चाँदी जडित गिलाँस तथा अन्य परम्रागत भाँडाकुँडाहरु बेच्न पनि पाए । पाँच बर्ष पुरानो लेनदेनका कारोबार पनि यतिबेला गर्ने अवसर मिल्यो । त्यसैले उनीहरु धेरै हर्षित भए ।
२०७६ सालदेखि चीन सरकारले एकतर्फी रुपमा बन्द गरेको चुमनुब्री गाउँपालिका १ को रुइला नाका र वडा नं. ७ को नुइला नाका गत भदौ ४ गतेबाट खुल्ला भएको थियो । अहिले तिब्बती सहर पुग्दा पहिलेजस्तो उत्साहवर्धक भने भएन । नुब्रीका मान्छेहरु पहिले झैँ रुई, कोङदाङसम्म जान पाएनन् । चुमका मान्छेहरु पहिले झैँ जोङ्गासम्म जान पाएनन् । जहाँसम्म गए पनि सुरक्षा घेरा धेरै कडा थियो । उनीहरुकै शव्दमा ‘बेइजिङमा भन्दा पनि कडा’ थियो ।
जे जस्तो अनुभव भए पनि तिब्बती सदाका लागि नाका खुलोस् । त्यस भेगका बासिन्दाले सुपथ मूल्यका दैनिक उपभोग्य बस्तु उपभोग गर्न पाउन् । सीमापारको नाता सम्बन्धीहरुसंग भेट हुन पायो । यसरी नै सँधै आफन्छ, इष्टमित्र भेटघाट गर्न पाइयोस । स्थानीयबासीको यही पुकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्