
ठडिँदै सहिदलखन र भीमसेनथापाको प्रशासकीय भवन
सहिदलखन र भीमसेनथापा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुवै पालिकाको भवनको संरचना तयार भइसकेको तर भित्रि ‘फिनिसिङ’ को काम काम बाँकी रहेको पालिकाहरुले जनाएको छ ।
सहिदलखन गाउँपालिकाको प्रशासकीय भवन निर्माणको करिब ९५ प्रतिशत काम सम्पन्न भईसकेको पालिकाका इन्जिनियर राजन रानाभाटले बताए । भित्रि सजावट, ग्रील राख्ने, भवन परिसर निर्माण लगायतका सानातिना कामहरु मात्र बाँकी रहेको उनले जानकारी दिए ।
‘अब सानातिना कामहरु मात्र बाँकी छन्, यही असोज १७ गतेसम्म निर्माण समपन्न हुने म्याद छ’, उनले भने, ‘त्यस अघिसम्म निर्माण सम्पन्न हुन्छ ।’ करिब ७ करोड ८८ लाख लागतमा भवन निर्माण सम्पन्न भएको उनको भनाइ छ ।
उक्त पालिकाले भवन निर्माणका लागि २०७७ चैत २ गते सम्झौँता गरेको थियो । सम्झौँता भएपछि पनि २ पटक म्याद थप भईसकेको इन्जिनियर रानाभटले बताए ।
यस्तै, भीमसेनथापा गाउँपालिका प्रशासकिय भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको पालिकाको इन्जिनियर कपिल पनेरुले बताए ।
भवन निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
‘प्रशासकीय भवन निर्माणको काम चरण चरण गरेर गरेका हौँ’, उनले भने, ‘भवन निर्माको पहिलो चरणको काम सम्पन्न भईसक्यो, अब परिसर निर्माण र भित्रि सजावटको काम मात्र बाँकी छ ।’
पानीको फोहोरा निर्माण र बगैँजाको केही कामहरु समेत सम्पन्न भईसकेको उनले बताए । ‘पालिकाको आफ्नै भवन भएपछि सेवा प्रवाहमा धेरै सहजता आउने छ’, उनले भने ।
करिब ५ करोड लागतमा भवन निर्माणको काम सम्पन्न हुने उनले बताए । दुवै पालिकाको भवन निर्माणको काम यही वर्ष भित्रमा सम्पन्न हुने पालिकाले जनाएको छ ।




