| मङ्लबार, कार्तिक २४, २०८३

विवरण उल्लेख नगरी नागरिकता जारी

नागरिकता बनाउँदा सानो विवरण पुगेन भने पनि फर्काइदिने गरेको जिल्ला प्रशासन कार्यालय गोरखाको नागरिकता फाँटले धेरै विवरण उल्लेखै नगरी एकजनालाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्रदान गरेको छ ।

नागरिकता बाहकको नामबाहेक अरु कुनै पनि पूरा विवरण उल्लेख नगरी फाँटले नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्रदान गरेको हो । आरुघाट गाउँपालिका ४ ढाँडखर्कका ५८ बर्षका श्यामबहादुर थापा मगरलाई गत साउन ३० गते नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी गरिएको थियो ।

नागरिकता प्रतिलिपिमा जन्ममितिको महलमा १८ बर्ष भनेर उल्लेख गरिएको छ, जन्ममिति उल्लेख छैन । जन्मस्थानको महलमा गोरखा मात्र उल्लेख छ । स्थायी बासस्थानको गाविस, वडा नं.को महल खालि छ । बाबुआमाको नामथर, ठेगाना, नागरिकता प्रमाणपत्र नंबरको महल पनि खालि छ । पति, पत्नीको नाम थर, ठेगाना, नागरिकता नंबरको महलहरु पनि सबै खालि राखेर नागरिकता प्रतिलिपि प्रदान गरिएको छ ।

भूपू नेपाली सेनाका उनले २०४१ सालमा बबरमहलबाट नागरिकता लिएका थिए । नेपाली कागजको एउटा पानामा बनाइएको पुरानो नागरिकताको प्रतिलिपि निकाल्नु पर्ने आवश्यकता परेकाले गत साउन ३० गते प्रक्रिया अपनाउँदा प्रशासन कार्यालयले विवरण बिना प्रतिलिपि बनाइदिएको हो ।

श्याबहादुर थापाले नेपाली सेनामा कार्यरत हुँदा पहिलो पटक काठमाडौँबाट नागरिकता लिएका थिए । पहिलोपटक जारी गरिएको नागरिकतामा त्यति विवरण मात्र उल्लेख भएकाले सोही आधारमा वडा कार्यालयले सिफारिस दिएको आरुघाट–४ का वडा अध्यक्ष धनेन्द्र धमलाले बताए ।

‘पहिलो पटक बबरमहलबाट निकालेको नागरिकतामा त्यति विवरण मात्र उल्लेख रहेछ । प्रतिलिपि नागरिकता पहिलाको विवरण अनुसार आउने भएकाले प्रशासनले त्यस्तो नागरिकता जारी गरेको होला’, उनले भने, ‘तर, बिना विवरणको नागरिकताले काम नगर्ने हुँदा पुनः वडाबाट सबै विवरण खुलाएको सिफारिस लगेका छन् । सोही आधारमा मैले सिफारिस गराएर पठाएको छु ।’ उनले गल्ती अहिलेको नभई पहिलेको भएको भन्दै दोष पर सारेका छन् ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने नागरिकताको प्रकृतिका आधारमा नागरिकता जारी गरिने बताए । ‘यस विषयमा मलाई थाहा भएन, विना विवरणको नागरिकता त जारी नगर्नुपर्ने हो । म भोलि (आइतबार) बुझेर खबर गर्छु’, उनले भने । प्रतिलिपिमा हस्ताक्षर गर्ने प्रशासकीय अधिकृत चुडानिधि तिवारीले यस विषयमा आफ्नो सम्झनामा नरहेको बताए ।

‘अरु जिल्लाबाट विवरण माग गर्दा जस्तो आएको छ, त्यसकै आधारमा बनाउने हुनाले त्यस्तो बन्यो होला’, उनले भने, ‘तर पूरा विवरण सहितको वडाको सिफारिस लिएर आए फेरि त्यही अनुसार हामी बनाइदिन्छौँ ।’ राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने हुँदा सबै विवरण सहितको नागरिकता बनाउन उनले वडा कार्यालयको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा आउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्