
आँबुखैरेनी दुर्घटनाको भारतीय बस ६ दिनदेखि मस्र्याङ्दीमै
आँबुखैरेनीको ऐनापहरामा दुर्घटना भएको ६ दिन बितिसक्दा पनि भारतीय बस सडकमा निकाल्न सकिएको छैन । गत शुक्रबार आँबुखैरेनी २ ऐनापहराबाट करिब डेढसय मिटर तल मस्र्याङ्दी किनारमा पुगेको यूपी ५३ एफटी ७६२३ नम्बरको उक्त बस बुधबारसम्म पनि सडकमा उतार्न नसकिएको प्रहरीले जनाएको छ ।
अहिले पनि बस निकाल्न दिनहूँजसो प्रयास भइरहेको छ । सो बस निकाल्न गत सोमबार बिहान आठबजेदेखि १२ बजेसम्म चारघण्टा सडक बन्द गरिएको थियो । ‘बस तान्न दुईवटा क्रेनको प्रयोग गरिएको थियो, तैपनि सकिएन’, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक शिव थापा भन्छन्, ‘मुस्किलले रोडभन्दा तलको केही समथर भूभागसम्म ल्याएर राख्ने काम भयो’, इन्स्पेक्टर थापा भन्छन्, ‘त्यहाँ हुक लगाएर राखिएको छ । ठूलो आँधिहुरी आयो भने फेरि पल्टाएर मस्र्याङ्दी किनारमै पु¥याउँछ जस्तो छ ।’ तैपनि जसोतसो सो बस निकालेर सुरक्षित ठाउँमा राख्ने प्रहरीको तयारी छ ।
सो बस दुर्घटनामा मृत्यू भएका भनिएका २७ मध्य एकजनाको शव अहिलेसम्म हराइरहेको छ । सो शव बसभित्र वा बसले चेपेर राखेको छ कि भन्ने आशंका थियो तर, कुनै पनि शव फेला नपरेको उनको भनाइ छ ।
बसलाई मस्र्याङ्दी किनारबाट तानेर भीरमा राखेपछि शव घटनास्थलमा छ भन्ने आशंका समाप्त भएको छ । ‘तैपनि शव भेटिन्छ कि भन्ने आशामा भारतीय दुतावासका दुई जना कर्मचारी पर्खेर बसेका थिए । बस निकालेर भीरमा पु¥याउँदासम्म पनि शव भेटिएन । त्यसपछि तुतावासका कर्मचारीहरु पनि फर्किए’, प्रहरी निरीक्षक थापाले भने, ‘त्यो बस सडकमा निकालेर भारतीय दूतावासलाई बुझाउने योजनामा छौँ । तर कहिलेसम्म त्यसो गर्न सकिन्छ भन्ने कुरा एकिन छैन ।’
चालकसहित ४३ जना तीर्थयात्री रहेको सो बस गत भदौ ७ गते शुक्रबार लुम्बिनी, पोखरा हुदै काठमाडौँ जाँदै गर्दा ऐनापहराबाट मस्र्याङ्दीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा २७ जनाको मृत्यू र १६ जना घाइते भएका छन् ।
बस निकाल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी छ दिनदेखि खटिरहेका छन् ।




