
‘स्थानीय तहले डोजर लगाउनुलाई मात्र बिकास भन्ने बुझे’
आइतवार जिल्ला सदरमुकाममा जलवायु परिवर्तनको असरको सन्दर्भलाई लिएर समुदाय र स्थानीय सरकार बीचको बिद्यमान खाडललाई कसरी कम गर्न सकिन्छ भन्ने बिषयमा छलफल कार्यक्रम भयो । कार्यक्रममा सहभागी अधिकांशले स्थानीय सरकारले डोजर चलाउनुलाई मात्र बिकास देख्ने गरेको भन्दै चिन्ता व्यक्त गरे ।
‘स्थानीय तहले डोजर लगाए मात्र बिकास हुन्छ भन्ने बुझे,’ कानून व्यवसायी स्थानेश्वर दुवाडीले भने, ‘त्यसले बिकास होइन बिनाश गरेको छ ।’ स्थानीय तहले समुदाय र स्थानीयको आवश्यकता पहिचान नगरी आफूखुशी योजना बनाउने र कार्यान्वयन गर्ने गरेको उनले बताए ।
प्लाष्टिकजन्य फोहोर र ढल मिसाउँदा खोलानाला स्वतन्त्र रुपमा बग्न नपाएको र यसले विनाश निम्त्याएको उनको भनाइ छ । गण्डकी गाउँपालिकामा बिषादीकै कारण किसानहरुमा क्यान्सर र मृगौलाको समस्या देखिएको बिषयलाई गम्भिर रुपमा लिनुपर्ने उनको सुझाव छ । यसको नियन्त्रणका लागि राष्ट्रिय स्तरबाटै पहल कदमी चाल्नु आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै मानव अधिकार संजालका अध्यक्ष यदु अधिकारीले स्थानीय उत्पादनको प्रवद्र्धन र बजार व्यवस्थापनमा स्थानीय तहले सहयोग नगर्दा अधिकांश खेतियोग्य जमिन बाँझो रहेको बताए । सार्वजनिक जग्गाजमिनमा वृक्षारोपण गरी रुख रोप्न उनले सुझाए ।
माओवादी केन्द्रका जिल्ला सचिव अकुर तिमिल्सिनाले भौतिक बिकास मात्र नभई मानवीय बिकासमा पनि जोड दिन आग्रह गरे ।
पवनरमण खनालले स्थानीय तह अनुसार स्थानीय सरकार चल्न नसकेको आरोप लगाए । पुरानै गाउँ बिकास समिति (गाविस) शैलिमा उनीहरु चल्ने गरेको धारणा उनले व्यक्त गरे । जलवायु परिवर्तनको प्रभावका कारण गोरखामा सुन्तला उत्पादन घट्दै गएको र तापक्रम पनि बढ्दै गएको उनले बताए ।
जलवायु परिवर्तन सम्बन्धी नीतिगत रुपमा काम गर्दै आएको नेपाल पिसविल्डिङ इनिसियटिभ नामक संस्थाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय तहका प्रतिनिधी, गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधी, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, प्राध्यापक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।




