
भरिन थाले बसपार्कस्थित बहुउद्देश्यीय भवनका सटरहरु
तीन बर्षभन्दा अघिदेखि खालि रहेको सदरमुकामको पुरानो बसपार्कभन्दा माथिको बहुउदेश्यीय भवनका सटरहरु अहिले धमाधम भरिन थालेका छन् । जिल्ला सदरमुकामको विपिचोक नजिकै बनेको उक्त भवनका अधिकांश सटरहरु अहिले भाडामा गइसकेको नगरपालिकाले जनाएको छ ।
कुल ३६ वटा सटरमध्ये २२ वटा भाडामा गइसकेको कार्यालयकी राजश्व शाखा प्रमुख शोभा दवाडीले बताइन् । ‘अहिले १३ वटा सटरमात्र भरिन बाँकी छन्,’ उनले भनिन्, ‘एउटा सटरमा भने भाडा नतिरेकाले ताला लगाइदिएका छौँ ।’ सटर भाडामा लिएका व्यवसायीहरुसँग धरौटी स्वरुप तीन महिनाको भाडा अग्रिम भुक्तानी लिएर बार्षिक सम्झौता भएको उनले जानकारी दिइन् ।
उनका अनुसार सटर अनुसार मासिक चारदेखि दश हजारसम्म भाडा निर्धारण गरिएको छ । ‘ए, बि, सि, डि बर्गमा ब्लकहरुलाई बर्गीकरण गरेका छौँ, त्यही अनुसार भाडादर तोकिएको छ,’ उनले भनिन् । होटल, रेष्टुरेष्ट, चटपट, कोसेली घर, सिलाई कटाई, कस्मेटिक, सैलुन लगायतका व्यवसायले सटरहरु भरिएको उनले बताइन् ।
यसअघि ठेक्कामा दिदै आएपनि यो बर्षबाट नगरपालिका आफैले व्यवसायीहरुसँग अलग(अलग रुपमा सम्झौता गरेको हो । ‘यो बर्ष पनि हामीले दुई पटकसम्म ठेक्का आव्हान ग¥यौँ तर कसैले पनि ठेक्का हालेनन्,’ प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले भने, ‘त्यसैले नगरपालिका आफैले सटर भाडामा लिने प्रत्येक व्यवसायीसँग छुटाछुट्टै सम्झौता गरेको हो ।’ नगर उपप्रमुखको संयोजकत्वमा बनेको राजश्व परामर्श समितिले उक्त निर्णय गरेको र नगर सभाबाट पास भएपछि कार्यान्वयन गरिएको उनले जानकारी दिए ।
बजार क्षेत्रको व्यापार व्यवसायलाई व्यवस्थित गर्ने उद्देश्यका साथ नगर बिकास कोष काठमाडौको साझेदारीमा गोरखा नगरपालिकाले व्यापारिक प्रयोजनका लागि उक्त भवन निर्माण गरेको हो । करिव साढेँ पाँच करोडको लागतमा उक्त भवन बनेको हो । कुल लागतको ९० प्रतिशत नगर बिकास कोषको ऋण अनुदान, ७.५ प्रतिशत नेपाल सरकारको अनुदान र २.५ प्रतिशत गोरखा नगरपालिकाको लगानी रहेको बताइएको छ ।
नगरपालिकाका अनुसार २०७६ साल मंसिर २ गते सिनर्जी क्रिश्चल सचेत जेभीसँग सम्झौता गरेर भवन निर्माणको काम सुरु भएको हो । एक बर्षमै काम सक्ने गरी सम्झौता भएपनि विभिन्न कारण देखाइ ठेकेदारले २०७८ साल असार मसान्तमा मात्र काम सकेको थियो ।
भवन संचालनका लागि नगरपालिकाले पहिलो पटक २०७८ साल कात्तिक १० गते ठेक्का आव्हान गरेको थियो । नविना निर्माण सेवाले ठेक्का पाएपनि सम्झौता गर्न नआएपछि गोरखा नगरपालिका–८ निवासी अन्जन खत्रीसँग सम्झौता भएको थियो । २०७८ साल फागुन १ गतेदेखि लागू हुने गरी तीन बर्षका लागि मासिक ३ लाख २९ हजार नगरपालिकालाई बुझाउने गरी खत्रीसँग सम्झौता भएपनि अधिकांश सटर खालि बसेका थिए ।
३६ वटा सटरमध्ये दशवटा मात्र भाडामा गयो । खत्रीलाई गोरखा नगरपालिकालाई रकम बुझाउन समेत मुश्किल प¥यो । अन्ततः उनी र नगरपालिका बीचको ठेक्का सम्झौता एक बर्षमै तोडियो ।
त्यसयता भवन भाडामा लगाउन टेण्डर आव्हान गरेपनि ठेक्का नपरेको नगरपालिकाले जनाएको छ । भाडा महँगो भएको भन्दै व्यवसायी नआएपछि अहिले नगरपालिकाले भाडा समेत घटाएको छ । भाडादर घटेसँगै सटरहरु भरिन थालेको बताइएको छ । बाँकी सटरहरु भने क्रमश भरिदै जाने नगरपालिकाले जनाएको छ । भवनको संरचनामा देखिएका समस्या मर्मत समेत भइसकेको बताइएको छ ।




