
तनहुँ बस दुर्घटना ः २७ जनाको मृत्यु, १६ घाइते
पोखराबाट काठमाडौंतर्फ गइरहेको भारतीय तीर्थयात्री बोकेको बस शुक्रबार बिहान तनहुँको आँबुखैरेनीस्थित ऐनापहरामा दुर्घटना भयो । २७ जना तीर्थयात्रीको ज्यान गयो । १६ जना घाइते छन् ।
यूपी ५३ एफटी ७६२३ नम्बरको उक्त बस आँबुखैरेनी गाउँपालिका— २ ऐनापहरामा बिहान ११ बजेतिर सडकबाट करिब एक सय मिटर तल मस्र्याङ्दी नदीमा खसेको थियो । दुर्घटनामा २६ जनाको घटनास्थलमै र एक जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सबैका शव आँबुखैरेनी अस्पतालमा पोस्टमार्टमका लागि राखिएका छन् ।
घाइतेको आँबुखैरेनी अस्पतालमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौं लगिएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । घटना भएको केहीबेरमै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर उद्धार गरेको उनले बताए । ‘सुरुमा आँबुखैरेनीका स्थानीयवासी र इप्रका आँबुखैरेनीको प्रहरी टोलीले बसभित्रका यात्रुलाई बगरमा निकाल्ने काम गरे ।
पछि सशस्त्र प्रहरी र नेपाली सेना आएर बाँकी यात्रुलाई बसभित्रबाट बगरमा उतार्ने काम गरे’, प्रजिअ गौतमले भने, ‘त्यसपछि घाइतेलाई डोरीलगायतका आपत्कालीन उद्धारमा प्रयोग गरिने उपकरण प्रयोग गरी सडकमा उतारियो र एम्बुलेन्समार्फत आँबुखैरेनी अस्पतालमा सामान्य उपचार गरियो । पछि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरमार्फत पहिलो चरणमा १२ जना र पछिल्लो चरणमा ४ जना गरी १६ जनालाई थप उपचार गर्न काठमाडौं पठायौं ।’
घाइतेहरूको अवस्था गम्भीर रहेको उनले बताए । दुर्घटना भएपछि केहीबेर पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द भए पनि अपराह्नदेखि एकातर्फी खुलाइएको थियो । गोरखपुरको केशरवानी ट्राभल्सबाट बुक गरिएका तीनवटा बसमा भारतीय १ सय १० जना तीर्थालुहरू नेपाल आएका थिए । महाराष्ट्रका उनीहरू भारतको इलाहबादबाट बसमा सवार भएर चित्रकुटधामको दर्शन गरी गोरखपुर हुँदै नेपाल भित्रिएका थिए । जसमध्ये ४५ सिट संख्या रहेको उक्त बसको दुर्घटना भएको हो । उनीहरू ११ गते भारत फर्कने तयारीमा थिए । दुर्घटनाग्रस्त बस शुक्रबार साँझसम्म पनि सडकमा ल्याउन सकिएको छैन । बस झिक्न शुक्रबार दिउँसो क्रेन ल्याइएको थियो । तर त्यसको क्षमता कम भएकाले अर्को क्रेन मगाइएको प्रहरीले जनाएको छ ।
भारतको महाराष्ट्रबाट दुईवटा बसभरि यात्रुहरू तीर्थाटनका लागि भैरहवास्थित बेलहिया नाका हुँदै साताव्यापी नेपाल भ्रमणमा नेपाल आएका थिए । ‘उहाँहरू लुम्बिनी घुमेर पोखरा आउनु भएको थियो । पोखराको होटल स्पोर्ट्स र पोखरा इन् होटलमा रहेर दुई दिन घुम्नु भएको थियो’, उनीहरूको भ्रमणमा सहजीकरण गरिरहेका पर्यटन व्यवसायी दुर्गाप्रसाद पाण्डेले भने, ‘पशुपति घुमेर फर्कने भनेर उहाँहरू काठमाडौं जान लाग्नु भएको रहेछ । एउटा बस अगाडि कटिसकेको थियो । पछाडि आएको बस मस्र्याङ्दीमा हाम्फाल्यो ।’
आफूहरू अगाडि पुगिसकेको तर सो बस नआएपछि फर्केर हेर्न आउँदा दुर्घटना भएको थाहा पाएको उनले बताए । आफूहरू घटना भएको पाँच, सात मिनेटभित्रै घटनास्थल पुगेको भन्दै अर्का पर्यटन व्यवसायी अर्जुन खनालले आफूहरूले काठमाडौंस्थित भारतीय दूतावास र यातायातको प्रबन्ध गरेको ट्रान्सपोर्टेसनको कार्यालयमा खबर गरी आफन्तहरूलाई खबर गरिदिन अनुरोध गरेको बताए ।




