| सोमवार, कार्तिक २३, २०८३

गोरखा सदरमुकाममा करेन्ट लागेर दुई जना घाइते

गोरखा नगरपालिका–६ पाटेचौरस्थित निर्माणाधिन घरमा काम गर्ने क्रममा करेन्ट लागेर दुई जना घाइते भएका छन् ।

गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २४ बर्षीय सुनिल मगर र भारत घर भई हाल गोरखा सदरमुकामको पेट्रोल पम्प नजिकै बस्दै आएका २८ बर्षीय अर्मन खान घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहीवार करिव साढे १२ बजे निर्माणाधिन घरमा अल्मुनियमको काम गर्ने क्रममा फलामको रडले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागेको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।

उनीहरुमध्ये मगरको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि भरतपुर मेडिकल कलेज रिफर गरिएको र खानको एपोलो अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । खानको अवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्