
छेकम्पारको नाका खुल्यो, स्थानीय हर्षित
लामो प्रतीक्षापछि चुमनुब्री गाउँपालिका ७ छेकम्पारको नुइला नाका खुल्ला भएको छ । चिनियाँ पक्षले एकतर्फी रुपमा पाँचबर्षदेखि बन्द गरेको सो नाका मंगलबारदेखि एक महिनाका लागि खुल्ला गरेको स्थानीयबासीले जानकारी दिएका छन् ।
नाका खुलेपछि स्थानीयबासी हर्षित भएका छन् ।
दैनिक उपभोग्य सामान नजिकको बजारबाट ओसारपोसार गर्न पाइने भन्दै उनीहरु खुशी भएका हुन् । ‘हाम्रो नाका खुल्ला भयो । अब आजदेखि मान्छेहरु सामान किन्न तिब्बती बजार जान पाउने भयो’, स्थानीय छेतेन छुम्बेल लामाले भने, ‘नागरिकता र सीमा पार पास लिएर आउनू भनेको छ । अहिले गाउँले तिब्बती बजार स्याकसम्म जान तयारी गरिरहेका छन् ।’
नाका खुल्ला गरे पनि याक, चौरीका लागि खुल्ला गरिएको छैन । मान्छे र घोँडा मात्र जान पाउने गरी खुल्ला गरिएको अर्का स्थानीय छिरिङ बुर्जी लामाले जानकारी दिए । यसअघि गत जेठ महिनामा छेकम्पारका प्रतिनिधिसंग तिब्बती अधिकारीहरुको बैठकमा असार १५ गतेबाट नाका खुलाउने जानकारी गराएको थियो । तर प्राविधिक कारण देखाउँदै त्यतिबेला खुल्ला नगरेको नाका भदौ चार गतेदेखि खुल्ला गरेको हो ।
यसअघि गत २०७६ सालको पुस महिनादेखि कोभिड १९ महामारी फैलिएपछि चिनियाँ पक्षले चुमनुब्री ७ को नुइला नाका, चुमनुब्री १ को रुईला नाका लगायत देशभरका १४ वटै नाका बन्द गरेको थियो । तीमध्य केही खुलेका छन् भने चुमनुब्री १ को रुइलालगायतका केही नाका अझै खुल्ला भएको छैन ।




