| सोमवार, कार्तिक २३, २०८३

लिगलिगे दौडको स्वामित्व स्थानीय सरकारले लिनु ठूलो उपलब्धी

कुनै पनि कुराको उठान हुनु मात्र ठूलो कुरा नहुँदो रहेछ । आरम्भ भन्दा पनि त्यसको निरन्तरता हुन्छ कि हुदैन भन्ने कुराले महत्व राख्दछ । तर बिगत केही बर्षदेखिको पालिकाहरुको अभ्यासलाई नियाल्दा नयाँ नयाँ कुरा, नयाँ नयाँ कामको आरम्भ गर्ने तर त्यसलाई टुंगोमा नपु¥याई बीचैमा अलपत्र पारेर छाड्ने गरेका कैयौं उदाहरण छन् ।

अझै एउटा कार्यकालमा एउटा पार्टीका पालिका प्रमुखले सुरुवात गरेको काम अर्को कार्यकालमा फरक पार्टीका प्रमुख आए भने त्यो कार्यक्रम अवसान नै हुने गरेका छन् । राम्रै काम किन नहोओस्, त्यसको जस, श्रेय फरक पार्टीका प्रमुखलाई जान्छ भन्ने डाहले त्यसलाई निरन्तरता नदिई अलपत्र पारेर छाड्ने गरेका छन् ।

लिगलिग दौड धेरै पहिलेदेखि सुरु भएको हो । यसले देशमा एउटा पहिचान बनाइसकेको छ, अर्थात भन्नुपर्दा यसले पहिचान पाइसकेको छ । अब यो ब्राण्डले स्पोन्सर पाउन पनि सहज भइसकेको अबस्था छ । लिगलिगे दौड लिगलिग विकास अभियानले सञ्चालन गर्दै आएको हो । सँधै गैरसरकारी तहबाट भन्दा पनि यसलाई सरकारी निकाय त्यसमाथि पनि स्थानीय सरकार(पालुङटार नगरपालिका)ले नै स्वामित्व लिने भनेको धेरै ठूलो उपलब्धी हो ।

किनभने अब कुनै संस्था राम्ररी चलोस्, वा नचलोस्, लिगलिगे दौड भने चलिरहन्छ । स्थानीय सरकारले नै स्वामित्व लिएपछि अब लिगलिगे दौडको स्थायित्वको ग्यारेण्टी भएको छ । भलै यसलाई व्युँताउने र आजका दिनसम्म ल्याइपु¥याउन अहोरात्र खटिने संस्थाबाट खोसिँदा नराम्रो अनुभूति हुनसक्छ, तर लिगलिगे दौडको पक्षबाट हेर्दा यो दौड सरकारले स्वामित्व लिनु दीर्घजीवि हुनु हो ।

त्यसैगरी पालुङटार नगरपालिकाले लिगलिग महोत्सव पनि मनाउन सुरु गर्न लागेको छ । विभिन्न मेला, महोत्सवको आफ्नै प्रकृति हुनसक्छ, तर लिगलिगे दौडको जगमा उभिएको लिगलिगे महोत्सवको महत्व महत्वपूर्ण छ । यसले निरन्तरता पाओस् ।

प्रतिक्रिया दिनुहोस्